आणविक कूटनीति असफल : इरानमाथि संयुक्त राष्ट्रसंघका प्रतिबन्ध लागु हुने सम्भावना
काठमाडौँ, असोज ११ । इरानसँगको आणविक सम्झौतामा अपेक्षित प्रगति नभएपछि संयुक्त राष्ट्रसंघले एक दशकपछि पुनः प्रतिबन्धहरू लगाउने तयारी गरेको छ । यदि अन्तिम समयमा कुनै विशेष सहमति नभएमा, शनिबार राति ८ बजेदेखि यी प्रतिबन्धहरू प्रभावमा आउनेछन् ।युरोपेली मुलुकहरूले इरानले पारदर्शिता नदेखाएको र आफ्नो आणविक कार्यक्रमबारे स्पष्ट जानकारी नदिएको भन्दै ‘स्वतः लागु हुने प्रतिबन्ध प्रक्रिया’ सुरु गरिसकेका छन् । हालै इरानले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई आफ्नो आणविक स्थलहरूमा पुनः प्रवेश गर्न अनुमति दिए पनि पश्चिमी राष्ट्रहरूले त्यसलाई पर्याप्त मानेका छैनन् ।
यी प्रतिबन्धहरूले इरानको आणविक तथा मिसाइल विकासमा संलग्न व्यक्ति, संस्था र कम्पनीहरूसँग विश्वव्यापी व्यापारमा रोक लगाउनेछ ।इरानी राष्ट्रपति मसुद पेजश्कियानले यदि पश्चिमी राष्ट्रहरूको उद्देश्य साँचिकै आणविक चिन्ता समाधान गर्नु हो भने त्यसका लागि संवादको ढोका अझै खुला रहेको बताउनुभएको छ । तर, उहाँले केही मुलुकहरूले इरानको शासन परिवर्तन गर्ने रणनीति अपनाइरहेको आरोप पनि लगाउनुभयो ।
रुस र चीनले प्रतिबन्ध स्थगन गर्न सुरक्षा परिषद्मा प्रस्ताव राखेका थिए, तर आवश्यक समर्थन नपाएपछि ती प्रयास सफल भएनन् । रुसले भने यी प्रतिबन्धहरूलाई मान्यता नदिने स्पष्ट संकेत दिएको छ । विश्लेषकहरूका अनुसार, प्रतिबन्ध पुनः लागु भएमा इरानको पहिल्यै कमजोर अर्थतन्त्र थप दबाबमा पर्नेछ । मुद्रास्फीति, मुद्रा अवमूल्यन र आधारभूत पूर्वाधार समस्याले जर्जर भएको अर्थतन्त्रमा थप चुनौतीहरू थपिने देखिन्छ ।
इजरायली प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै प्रतिबन्धमा ढिलाइ नगर्न आग्रह गर्नुभयो र आवश्यकता परे इरानको आणविक पूर्वाधारमाथि पुनः कारबाही गर्न तयार रहेको संकेत दिनुभएको छ । इरानले भने कुनै पनि हालतमा आणविक हतियार निर्माण नगर्ने प्रतिबद्धता दोहोर्याउँदै, अन्तर्राष्ट्रिय सन्धिबाट बाहिरिने विचार नरहेको स्पष्ट पारेको छ ।
