‘युद्धका कारण बारे युक्रेनसँग सम्बोधन बार्ताका लागि तयार छौँ ‘ – रुसी विदेशमन्त्री
काठमाडौँ, असोज १२ । रूसी विदेश मन्त्री सर्गेई लाभ्रोभले युक्रेनसँगको द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नका लागि वार्ता गर्न रूस तयार रहेको बताउनुभएको छ । लाभ्रोभले रूसको सुरक्षा, युक्रेनमा रहेका रूसी जनता र रूसी भाषीहरूको अधिकार पुनः स्थापनाको महत्वमा जोड दिँदै यस्तो भनाइ राख्नुभएको हो । संयुक्त राष्ट्रसंघ महासभाको ८० औँ सत्रमा बोल्दै लाभ्रोभले मस्कोको अधिकार र चासोको सम्मानमा आधारित भएमा रूस युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले द्वन्द्वले राष्ट्रहरूबीचको सार्वभौमसत्तामा समानताको सिद्धान्तको गम्भीर उल्लङ्घन गरेको र यसले न्याय तथा विश्वासलाई कमजोर पारी सङ्कट उत्पन्न गर्ने बताउनुभयो ।
लाभ्रोभले सम्बन्धित राष्ट्रहरूको सैन्य शक्ति, जनसङ्ख्याको आकार वा आर्थिक स्थितिको परवाह नगरी अन्तर्राष्ट्रिय प्रणालीमा सबै राष्ट्रहरूको उचित स्थिति सुनिश्चित गर्न पनि आह्वान गर्नुभयो । उहाँले पश्चिमले बल प्रयोग वा धम्कीबाट टाढा रहने सिद्धान्तलाई धेरै पटक उल्लङ्घन गरेको र यसले मध्यपूर्वको स्थिरतालाई झनै कमजोर पारेको उल्लेख गर्नुभयो । द्वन्द्वको समयमा प्यालेस्टिनीहरू विरुद्ध इजरायलद्वारा गैरकानुनी बलको प्रयोग, साथै इरान, कतार, यमन, लेबनान, सिरिया र इराकलाई लक्षित गर्ने आक्रामक उपायहरूले सम्पूर्ण क्षेत्रलाई भड्काउने खतरा खडा गरेको उहाँले जनाउनुभयो ।
रूस–अमेरिका सम्बन्धको सन्दर्भमा, लाभ्रोभले युक्रेनी सङ्कटको व्यावहारिक समाधानका लागि राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबीचको अलास्का शिखर सम्मेलनपछि रूसको आशा मस्को र वासिङ्टनबीचको वार्ताको निरन्तरतामा निहित रहेको बताउनुभयो । रूस र अमेरिकाले विश्वव्यापी अवस्थाप्रति विशेष जिम्मेवारी बोकेका बताउँदै उहाँले नयाँ युद्ध निम्त्याउन सक्ने जोखिमहरूबाट बच्न आवश्यक रहेको बताउनुभयो ।
संयुक्त राष्ट्रसंघको सुधारको विषयमा, लाभ्रोभले आजको विश्वव्यापी शक्तिको सन्तुलन ८० वर्ष अघिको भन्दा मौलिक रूपमा भिन्न रहेको कुरामा जोड दिनुभयो। उहाँले सुरक्षा परिषद्मा एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको प्रतिनिधित्व विस्तार गरी सबै सदस्य राष्ट्रको हितको रक्षा गर्दै पूर्ण पारदर्शिताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो।
