विज्ञान-प्रविधिमा विदेशी प्रतिभा आकर्षित गर्न चीनबाट ‘के भिसा’ कार्यक्रम लागू

काठमाडौँ, असोज १५ । चीनले विज्ञान तथा प्रविधि क्षेत्रमा विदेशी प्राविधिक प्रतिभाहरूलाई आकर्षित गर्ने उद्देश्यका साथ बुधबार नयाँ भिसा कार्यक्रम ‘के भिसा’ लागू गरेको छ। यो कदमलाई चीनले आफूलाई संयुक्त राज्य अमेरिकाभन्दा अगाडि विश्व नेताका रूपमा स्थापित गर्ने रणनीतिक प्रयासको महत्त्वपूर्ण हिस्सा भएको जनाइएको छ । यो नयाँ नीति गत अगस्टमा घोषणा गरिएको थियो र यो अमेरिकी नीतिभन्दा विपरीत धारमा आएको मानिएको छ। हालै अमेरिकाले आफ्ना कुशल कामदार भिसा (एच–१बी) मा आकस्मिक रूपमा नयाँ र महँगो परिवर्तनहरू गरेको छ, जसले प्रविधि उद्योगमा असन्तोष बढाएको छ।

चिनियाँ राज्य सञ्चारमाध्यमहरूका अनुसार नयाँ ‘के भिसा’ ले आप्रवासन प्रक्रियालाई निकै सहज बनाउनेछ । पिपुल्स डेलीले यस सम्बन्धमा लेखेको छ, “केही देशले अन्तर्राष्ट्रिय प्रतिभालाई बेवास्ता गरिरहेको अवस्थामा चीनले यस अवसरलाई समयमै उपयोग गर्दै तत्कालै यो नीति अघि सारेको छ ।” अन्य भिसा श्रेणीहरूको तुलनामा ‘के भिसा’ प्राप्त गर्न आवेदकलाई घरेलु रोजगारदाता वा संस्थाबाट निमन्त्रणा लिन अनिवार्य हुने छैन । सिन्ह्वा समाचार एजेन्सीका अनुसार यस भिसाले धारकलाई प्राप्त हुने प्रविष्टिको सङ्ख्या, भिसाको वैधता अवधि र चीनमा बसाइ अवधि सम्बन्धी थप सुविधा प्रदान गर्नेछ ।

यस भिसाको लक्ष्य समूह ‘युवा विदेशी वैज्ञानिक र प्राविधिक प्रतिभा’ भएको जनाइएको छ। यद्यपि, आवश्यक उमेर, शैक्षिक योग्यता र कार्य अनुभवबारे विस्तृत मापदण्डहरू अझै स्पष्ट गरिएको छैन । भिसा धारकहरूले शिक्षा, संस्कृति, विज्ञान, प्रविधि, उद्यमशीलता र व्यावसायिक गतिविधिहरूमा संलग्न हुन पाउने व्यवस्था हुने सिन्ह्वाले जानकारी दिएको छ ।

अमेरिकामा ट्रम्प प्रशासनले एच–१बी भिसामा अप्रत्याशित परिवर्तन गर्दा प्रविधि उद्योगमा असन्तोष बढेको छ । यो भिसाले अमेरिकी कम्पनीहरूलाई वैज्ञानिक, इन्जिनियर र कम्प्युटर प्रोग्रामर जस्ता विशेष सीप भएका विदेशी कामदारलाई तीन वर्षसम्म प्रायोजन गर्ने अनुमति दिन्थ्यो। तर, नयाँ नीतिअनुसार अब यसका लागि करिब एक लाख डलर बराबरको शुल्क तिर्नुपर्ने छ । प्रत्येक वर्ष लटरी प्रणालीमार्फत वितरण हुने यी भिसामध्ये करिब तीन चौथाइ हिस्सा भारतीय नागरिकहरूले पाउने गरेका छन् ।

यसबीच, पिपुल्स डेलीले मङ्गलबार प्रकाशित आफ्नो लेखमार्फत चीनमा नयाँ भिसाले ‘आप्रवासन समस्या सिर्जना गर्ने’ भनी फैलिएका अफवाहहरूलाई अस्वीकार गरेको छ । पत्रिकाले उल्लेख गरेको छ, “तथाकथित आप्रवासन सङ्कट साकार हुने छैन, हामीसँग सांस्कृतिक आत्मविश्वास छ ।” यसले चीन आफ्नो नयाँ भिसा नीतिप्रति विश्वस्त रहेको सङ्केत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *