गाजामा इजरायली आक्रमण, १५ प्यालेस्टिनीको मृत्यु
काठमाडौँ, असोज १७ । इजरायलले शुक्रबार गाजा पट्टीमा गरेको हवाई आक्रमणमा परी कम्तीमा १५ जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी (वफा) ले जनाएको छ। मृतक मध्ये ११ जनाको मृत्यु गाजा शहरमै भएको रिपोर्ट गरिएको छ । वफाका अनुसार, दक्षिणी गाजाको अल–मवासी, खान युनुसमा इजरायलले एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा थप तीन जनाको मृत्यु भएको छ । इजरायली सेनाले अल–मग्राबी स्ट्रिटमा नागरिकहरूको समूह र शहरको पश्चिमको अन्सार क्षेत्रमा आक्रमण गर्दा दक्षिणी गाजा शहरको अल–सब्रामा पनि थप हताहती भएको रिपोर्ट गरिएको छ ।
उद्धार टोलीहरूले गाजा शहरको दक्षिणपूर्वमा रहेको अल–जायतुनमा रहेको अल–फलाह स्कूलको भग्नावशेषमुनिबाट दुई प्यालेस्टिनीको शव निकालेका छन् । उक्त स्थानमा पाँच दिनअघि इजरायली सेनाले उद्धार टोलीहरूलाई लक्षित गरी प्रहार गरेको थियो । यसका साथै, पूर्वी गाजा शहरको उमर अल-मुख्तार सडक नजिकै भएको इजरायली आक्रमणका कारण अधिकांश बालबालिकासहित धेरै नागरिकहरू घाइते भएको जनाइएको छ ।
सन् २०२३ को अक्टोबरदेखि गाजामा जारी इजरायली आक्रमणले हालसम्म ६६ हजार २२५ प्यालेस्टिनीको ज्यान लिइसकेको छ भने १ लाख ६८ हजार ९३८ भन्दा बढी घाइते भएका छन् । हजारौं पीडितहरू इजरायली आक्रमणका कारण भग्नावशेषमुनि फसेको अनुमान गरिएको छ, जहाँ आपतकालीन र नागरिक सुरक्षा टोलीहरू पुग्न सकेका छैनन् ।