पानी परिरहेको र बढ्ने मात्रामा रहेको

नेपालका अधिकांश ठाउँमा बर्षा नियमित र बढ्ने क्रममा

काठमाडौँ, १८ असोज: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका धेरै क्षेत्रमा वर्षा भइरहेको छ। बिहानदेखि वर्षाको मात्रा बढ्दै गएको छ र लगातार झरी परिरहेको छ । पछिल्लो एक घण्टामा काठमाडौँमा ६ मिलिमिटर, ललितपुरमा ९.८ मिलिमिटर र भक्तपुरमा ५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । हाल उपत्यका आसपासका जिल्लासहित तराई केन्द्रित वर्षा भइरहेको विभागले जनाएको छ । पछिल्लो एक घण्टामा पर्सामा १० मिलिमिटर र रौतहटमा १०.६ मिलिमिटर वर्षा भएको छ। महोत्तरी र धनुषासम्म पनि वर्षा भइरहेको जानकारी दिइएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार, पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कैलालीको गर्भामा ८३.२ मिलिमिटर वर्षा भएको छ । सोही अवधिमा पर्सामा ४० मिलिमिटर र बारामा २८ मिलिमिटर वर्षा रेकर्ड भएको छ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ। रातिमा अझ धेरै वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

हाल विशेष गरी बागमती प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वर्षा गराउने प्रणाली पूर्व-उत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रमा वर्षा जारी रहने भएकाले सतर्कता अपनाउन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन विभागले अनुरोध गरेको छ।