सगरमाथाको तिब्बत क्षेत्रमा सयौँ पदयात्री फसे, उद्धार कार्य जारी

काठमाडौँ, असोज २० । प्रतिकूल मौसमका कारण सर्वोच्च शिखर सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भागमा सयौँ मानिसहरू फसेका छन् । उनीहरूको उद्धारकार्य जारी छ । बाक्लो हिमपातका कारण पदमार्ग अवरुद्ध भएकाले आरोही र तिनका सहयोगीहरू फसेको चिनियाँ समाचार संस्थाहरूले जनाएका छन् । केहीलाई पहिल्यै उद्धार गरिए पनि करिब एक हजार जना अझै फसिरहेको रोयटर्सले उद्धृत गरेको जिमु न्यूजमा उल्लेख छ ।

समाचारमा लेखिएअनुसार स्थानीय बासिन्दा र उद्धार टोलीका सदस्यहरू करिब ४ हजार ९०० मिटर माथिको क्षेत्रमा उद्धारमा सक्रिय छन् । उनीहरू हिउँ हटाउने र बाटो खुलाउने प्रयासमा छन् । शुक्रबार साँझदेखि सुरु भएको हिमपात शनिबारसम्मै जारी थियो । त्यसपछि तिब्बतको टिङ्ग्री काउन्टी पर्यटन समितिले सगरमाथा अवलोकनका लागि हुँदै आएको टिकट बिक्री बन्द गरिएको जानकारी आफ्नो आधिकारिक वी-च्याट अकाउन्टमार्फत् दिएको थियो ।

सगरमाथाको नेपालतर्फको भागमा पनि हिउँको ढिस्को खसेर पदमार्ग अवरुद्ध भएको समाचार सार्वजनिक भएको थियो । नाम्चे र जोरसल्ले बीचको मुख्य पदमार्ग पहिरोका कारण क्षतिग्रस्त भएको जानकारी नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) ले दिएको थियो । टानले उक्त खण्डमा यात्रा गर्ने पदयात्रीहरूलाई सावधानी अपनाउन र विकल्पको रूपमा मूल बाटोभन्दा दुई-तीन सय मिटर माथि रहेको खच्चर हिँड्ने बाटो प्रयोग गर्न सूचना प्रवाह गरेको थियो ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले नेपालमा असोज १८ गतेदेखि १९ गतेसम्म अत्यधिक वर्षासँगै बाढीपहिरो आएको थियो । बाढीपहिरोमा परी इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु भएको छ । सगरमाथा क्षेत्रमा पनि असामान्य रूपमा धेरै हिमपात भइरहेको बताइएको छ । त्यसैले आरोही तथा पर्यटकहरू अप्ठ्यारोमा परेका हुन् । चिनियाँ समाचार संस्था सीसीटीभीका अनुसार अप्ठ्यारोमा परेकाहरूमध्ये करिब ३५० जनालाई उद्धार गरेर कुदाङ शहर पुर्‍याइसकिएको छ । २०० भन्दा बढीसँग पनि सम्पर्क स्थापित भइसकेको छ ।

आठ दिन लामो राष्ट्रिय दिवसको बिदाको अवसरमा सयौँ पर्यटकहरू कर्मा उपत्यका पुगेका थिए । कर्मा उपत्यकाबाट सगरमाथाको पूर्वी भागमा पुगिन्छ । उद्धारपछि कुदाङ पुगेकी १८ सदस्यीय ट्रेकिङ टोलीकी एक सदस्य चेन गे श्वाङले समाचार एजेन्सी रोयटर्ससँग हरुसँग भन्नुभएको छ,  ‘मौसम असामान्य छ । अक्टोबर महिनामा यस्तो मौसम कहिल्यै देखेकी थिइनँ, सबै कुरा एक्कासि भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *