मेयर बालेनको झूटपूर्ण स्ट्याटसमा अधिकांशको प्रतिक्रियाः नक्कली र बनावटी कुरा कसरी पत्याउनु ?

काठमाडौं, २१ असोज । जेनजी आन्दोलनका नाममा भदौ २४ मा सिंहदरबारमा आगो लगाउने काम भयो । सर्वोच्च अदालत खरानी भयो । अति महत्त्वपूर्ण, संवेदनशील र पुरातात्विक महत्त्वका सम्पदाहरु जलेर नष्ट भए । यसरी सिंहदरबारमा आगो झोस्दा र सम्पदाहरु खरानी बनाउँदा पनि त्यसको जिम्मेवारी कसैले पनि लिने आँट गरेनन् । बरु त्यहि आन्दोलनका बलमा संसद विघटन भयो र सुशीला कार्की गैरदलीय प्रधानमन्त्री बन्नुभयो । त्यसपछि भने जेनजीका नाममा विभिन्न समूहहरु सतहमा आएर आन्दोलनपछिको फेरिएको राजनीतिमा आफू अनुकुल व्याख्या गर्दै जस लिने होडमा अग्रसर भए ।

तर, अनौठो के भने आगजनी, तोडफोर र प्रहरीहरुको निर्मम हत्याको जिम्मेवारी लिने बेलामा भने उनीहरुले औँला राजनीतिक दल र तत्कालिन सरकारप्रति नै देखाउँदै आएका छन् । जेनजी आन्दोलनलाई सबै भन्दा बढी गिजोलगाजोल भने काठमाडौंका मेयर बालेन साहले गरेको देखिन्छ । उहाँले सामाजिक सञ्जालमा पटक–पटक सन्देशहरु सार्वजनिक गर्दै त्यो सबै आन्दोलनको अगुवाई नै आफैँले गरेको जस्तो देखाइ दिनुभयो । मेयर साहले चाहेकै व्यक्ति कार्की प्रधानमन्त्री बन्ने मात्रै होइन उहाँकै सल्लाहकारलाई गृहमन्त्रीको पगरी समेत लगाउने काम भयो ।

तर, आन्दोलनको सबै अगुवाई आफूले गरेको भन्ने जस्तो देखाउने मेयर साहले यो एक महिनाको बिचमा एक जना घाइते भेट्ने, मृत्यु भएका जेनजीहरुको मलामी जाने, उनीहरुका लागि केही पहल गर्ने जस्ता कुरामा कुनै चासो देखाउनु भएन । बरु सामाजिक सञ्जालमा एकपछि अर्को स्ट्याटस लेख्दै रोकिएका सबै काम केही दिनमै भटाभट सुरुवात भएको जस्तो देखाउन उहाँले भ्रम फैलाउने र सेन्टिेमेन्ट लिने रणनीति अँगाल्नुभयो ।

काम गरेर भन्दा पनि भ्रम फैलाएर चर्चा कमाउने उहाँको पुरानो शैलीलाई साहले यो पटक पनि त्यहि रणनीति अपनाउँदै आज एक लामो स्ट्याटस लेखेर भ्रम फैलाउने प्रयास गर्नुभएको छ । तर, उहाँको त्यो रणनीतिलाई अधिकांशले झूट सावित गदिएका छन् । साहले स्ट्याटस लेखेपछि सकारात्मक प्रतिक्रियाका बाढी नै आउने गर्थो । तर, यो पटक भने त्यस्तो भएन । उहाँले आन्दोलनको अगुवाई गरेको सन्देश सामाजिक सञ्जालबाट देखाए पनि सिंहदरबार, सर्वोच्चलगायतका संरचना जल्दा केही नगरी बसेको, बरु जलिसकेपछि पनि ढिलोसम्म दमकल नपठाएको जस्ता आक्रोशको शिकार बन्नुभएका काठमाडौं मेयर साहको तिव्र आलोचना हुँदै आएको थियो । कुनै समेय सिंहदरबारमा आगो लगाउँछु भन्ने मेयर साहले साच्चिकै सिंहदरबार जल्दा देखाएको मौनताको धेरैले आलोचना गरेका थिए ।

सिंहदरबार, महत्वपूर्ण संरचना अनि व्यक्तिका निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र विध्वंश मच्चाउने समूहलाई महानगरको गाडीले पानीका बोत्तल बाँड्दै हिँडेको दृश्य देखेका जनताले मेयर साहको आलोचना गर्नु स्वाभाविकै थियो । अझ आज अनेरास्ववियुले उनिविरुद्ध प्रहरीमा उजुरी दिएपछि साहले प्रतिरक्षा गर्दै लामो स्ट्याटस लेख्नुभयो । तर, उहाँको उक्त स्ट्याटसमा अधिकांशले कमेन्ट गर्दै संघीय सरकारसँग आक्रोश पोख्दै सिंहदरबार जलाउने धम्की दिनुभएका साहको विगतको फेसबुक स्टाटस, अनि यो विध्वंशमा उहाको भूमिका के थियो ? भन्ने प्रश्नहरु तेर्साएका छन् । मेयर साहले आफूसँग भएका जनशक्ति, दमकल लगायतले समयमा सक्दो काम गर्न खोजेको भन्दै प्रतिरक्षा गर्दै सर्वोच्च परिसरको आगो निभाउँदै महत्वपूर्ण कागजात बचाएको जिकिरसमेत गर्नुभएको छ । तर, उहाँको त्यो जिकिरलाई कसैले पनि पत्याएका छैनन् ।

त्यति मात्रै होइन सिंहदरबार, सर्वोच्च अदालतमा आगो लाग्दा भीडका कारण निभाउन सम्भव नभएको भनी साहले गरेको दाबीमा पनि झुट देखिन्छ । स्वयं सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले एक अन्तर्वार्तामा सुरुमा कोही पनि निभाउन नआएको र आगलागी भएको दुई दिनपछि मात्रै ललितपुर महानगरपालिका कार्यालयको दमकल आगो निभाउन पुगेको उल्लेख गर्नुभएको थियो । उहाँको भनाइलाई नपत्याउनु पर्ने आधार भेटिन्न ।

साहको झूटपूर्ण स्ट्याटस आएपछि धेरैले विरोध गर्दै ‘नक्कली र बनावटी कुरा पनि कति जनाको पत्याउनु, कुन सत्य हो छुट्याउनु कसरी ? जलिरह्यो, तीन दिनसम्म आगो देखियो । आगोमात्र देखियो ।’ भन्दै प्रतिक्रिया दिएका छन् । अधिकांशले साहले झूट फैलाएको भन्दै आलोचना गरेका छन् ।