आन्दोलनकारीले अभिलेख नष्ट गरे, सर्वसाधारणले सास्ती भोग्नु पर्ने दिन आए

जेन-जी आन्दोलनमा २१ वटा मालपोत कार्यालयमा आगजनी : श्रेस्ता कायम गर्न ११ प्रकारका कागजपत्र चाहिने

काठमाडौं, २३ असोज । जेनजी आन्दोलनको क्रममा आगजनीका कारण कतिपय मालपोत कार्यालयहरूमा अभिलेख मेटिएकाले जग्गाधनीहरूले श्रेस्ता कायम गर्न झन्झट व्यहोर्नुपर्ने भएको छ । यसका लागि जग्गाधनी स्वयं उपस्थित भएर ११ थरी कागजात पेस गर्नुपर्ने नियम बनाइएको छ । कलंकी, कास्की लगायतका विभिन्न मालपोत कार्यालयहरूले सूचना जारी गर्दै विभिन्न ११ थरी कागजातसहित श्रेस्ता कायमका लागि निवेदन दिन आग्रह गरेका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेन-जी युवा आन्दोलनको क्रममा काठमाडौंको कलंकी, कास्की, भरतपुर, बाँके, घोराही, तुलसीपुर, मोरङ, बुटवल, धनगढी र खैरहनीसहित २१ मालपोत कार्यालयमा आगजनी भएको थियो । तीमध्ये कतिपय कार्यालयहरूमा डिजिटल अभिलेख छैन । डिजिटल रेकर्ड नभएकाको हकमा भूमि प्रशासन निर्देशिका २०८१ अनुसार श्रेस्ता कायम गर्न झन्झटिलो र लामो प्रक्रिया अपनाउनुपर्ने विभागका अधिकारीहरूको भनाइ छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक तथा प्रवक्ता खिमानन्द आचार्यका अनुसार, श्रेस्ता कायम गर्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा रहेको स्थानीय तहबाट भएको भोग सम्बन्धी र सम्बन्धित जग्गा धनी एकिन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको तीन पुस्ते फोटो टाँससहितको सिफारिस, जग्गा धनीसँग भएको सक्कल पुर्जा लगायतका कागजातहरू आवश्यक पर्दछन् । यसैगरी, जग्गा प्राप्तिको स्रोतमा लिखतबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणित प्रति, प्लट रजिस्टर, फिल्डबुक, नक्सा, चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद पनि पेस गर्नुपर्नेछ ।

जग्गा रोक्का रहेकोमा रोक्का राख्ने संस्थाको सहमति, आवश्यकता अनुसार स्थलगत सर्जमिन, आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सूचना, गुठी जग्गाको हकमा गुठी संस्थानको सहमति पत्र लगायतका कागजातसहित मालपोत कार्यालयमा निवेदन दिनुपर्छ । कसैले नक्कली लालपुर्जा बनाएर जग्गामा दाबी गर्न सक्ने तथा एउटै जग्गामा अरुको पनि दाबी पर्न सक्ने जोखिम भएकाले पनि ११ थरी कागजात आवश्यक ठानिएको मालपोत कार्यालयका कर्मचारीको भनाइ छ ।