ट्रफीसहित नेपाली महिला टिम स्वेदश फिर्ता
काठमाडौँ, २४ असोज । मलेसियासँगको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला जित हात पारेर नेपाली क्रिकेट टिम बिहिबार राति स्वेदश फर्केको छ । नेपाली महिला क्रिकेट टिमले बुधबार आयोजक मलेसियासँगको पाँचौँ तथा अन्तिम खेमला महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला ३–२ ले जितेको थियो ।
मलेसियाले पहिलो खेल १३ र तेस्रो खेल तीन रनले जितेको थियो । नेपालले दोस्रो तथा चौथोमा खेल मलेसियालाई समान छ विकेटले हराएर शृङ्खला बराबरीको स्थितिमा ल्याएको थियो । त्यसपछि नेपालले निर्णायक खेल पाच विकेटले जित्यो ।
प्रशिक्षक मनोज कटुवालले सिरिज फलदायी भएको बताए । यद्यपि उनले तीन महिनापछि हुने ग्लोबल क्वाफायरमा राम्रो गर्नुछ भने अझै ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सुधार गर्नुपर्छ,भने ।
नेपाली टोलीकी कप्तान इन्दु बर्माले समग्रमा सिरिज राम्रो भएको बताइन् । कप्तान भइसकेपछि मेरो पहिलो ट्रफी हो । त्यसैले पनि यो सिरिज जित विशेष छ । पाँचै खेल जित्न सकेको भए सुनमा सुगन्ध हुने थियो – इन्दु भन्छन् । कप्तान इन्दुले ग्लोबल क्वालिफायरका लागि अझ थप एक्पोजर मागिरहेको जानकारी पनि दिइन् । उपकप्तान पूजा महतोले यस सिरिजले ग्लोबल क्वालिफायरअघि मनोबल उच्च पारेको छ, भनिन् ।
नेपाल पहिलोपटक टी–२० विश्वकपको एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको छ । ग्लोबल छनोट सन् २०२६ को जनवरीमा नेपालमै हुँदैछ । सो प्रतियोगताबाट नेपाललाई पहिलोपटक विश्वकप खेल्ने अवसर मिल्नेछ ।