सशस्त्र प्रहरी बलको झण्डा ‘चुलु फार इस्ट’ हिमालको शिखरमा फहराइयो
काठमाडौँ, असोज २६ । सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेलको नेतृत्वमा सात जनाको टोलीले दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने ६ हजार ३८ मिटर अग्लो ‘चुलु फार इस्ट’ हिमालको सफल आरोहण गरेको छ । यही असोज २५ गते बिहान ७ बजे टोलीले हिमालको शिखरमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । सफल आरोहण गर्ने टोलीमा सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगी, नायब उपरीक्षक मनोज खड्का, निरीक्षकद्वय निर्मल बस्नेत र रवि खकुरेल, नायब निरीक्षक दन्तबहादुर छन्त्याल र जवान कमल श्रेष्ठ हुनुहुन्छ । आरोही मिङतेम्बा शेर्पा र सुम्बाछिरिङ शेर्पाको ‘गाइडलाइन्स’मा ‘फोर्टिन पिक्स एक्सपिडिसन’ मार्फत उक्त हिमाल आरोहण सम्पन्न गरिएको हो ।
सशस्त्र प्रहरी बलले यस आरोहणलाई पर्वतीय उद्धारको क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्ने र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । यसका साथै, मनाङमा सञ्चालित पर्वतीय उद्धार तालिम शिक्षालयका लागि आवश्यक पर्ने प्रशिक्षकहरूको उत्पादनमा समेत यसले ठूलो भूमिका खेल्ने सशस्त्र प्रहरीको दाबी छ ।
सशस्त्र प्रहरीले चुलु फार इस्ट हिमाल आरोहणका लागि अनुमति खुला गर्ने प्रक्रियामा पहल गरेको थियो । यसअघि चुलु इस्ट हिमालको अनुमति लिएर चुलु फार इस्ट हिमालको आरोहण गर्ने प्रचलन थियो। सशस्त्र प्रहरीको यस सफल आरोहणले चुलु फार इस्ट हिमाल आरोहण गर्ने कानुनी वैधानिकतासमेत प्राप्त गरेको छ ।