देश प्रतिक्रान्तितर्फ धकेलिएको छ यसलाई बचाउनुपर्छः अध्यक्ष ओली
काठमाडौं, २९ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशका लागि नेकपा (एमाले) जहिल्यै चाहिने बताउनु भएको छ ।
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा सम्वोधन गर्दै यस्तो उहाँले बताउनु भएको हो । ‘अहिले केही समय एमाले हट्यो भनेर भ्रममा कोही पनि नपर्दा हुन्छ,’ उहाँले भन्नुभयो, ‘हामीसँग देशविकासको मार्गचित्र छ । दीगोविकास लक्ष्य पूरा गर्ने गन्तव्य हामीसँग छ । त्यो प्रयासमा हामी अनवरत लागिरहेका थियौँ । अहिले पनि छौँ । हामी सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा पनि यो अडानमा छौँ । प्रतिक्रियात्मक होइन हाम्रा सकारात्मक र सिर्जनात्मक सोचहरु छन् । हामी यहि अनुसार अघि बढेका छौँ । अल्पविकसितबाट विकाशसील राष्ट्रमा स्तरोन्नतिका लागि हामीले अनुकुल वातावरण निर्माण गरिरहेका थियौँ । अहिले पनि छौँ ।’
ओलीले राजनीतिक आग्रह–पूर्वाग्रहले नबुझ्नु बेग्लै कुरा भएकाे भन्दै एमाले बाहेक कसैबाट पनि देश अघि नबढ्ने ठोकुवा पनि गर्नुभयो । ‘देश प्रतिक्रान्तितर्फ धकेलिएको छ । यस्लाई लोकतान्त्रिक, जनपक्षीय, भ्रष्टाचारमुक्त शक्तिहरु एक भएर रोक्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामीले नराम्रो काम गरेर, देशविरुद्धका नीति लिएर होइन हाम्रा नीतिहरु राम्रा भएर सबै भन्दा बढी प्रहार भएको छ ।’
उहाँले नेकपा (एमाले) नै कम्युनिष्ट आन्दोलनको अनवरत बैचारिक, सांगठनिक, व्यवहारिक र आन्दोलनमा पनि मूलधारको पार्टी भएको उल्लेख गर्नुभयो । ‘नेपालको देशभक्तिपूर्ण र लोकतान्त्रिक आन्दोलन, सुशासन र विकासको शान्तिका प्रयास, सन्तुलित छिमेक र परराष्ट्र आन्दोलनको योगफल नै नेपालको कम्युनिष्ट आन्दोलन बन्छ,’ उहाँले भन्नुभयो, ‘यी सबै कुरा मन नपराउने शक्ति छन् । राष्ट्रले स्वाभिमानका साथ शीर उठाएको मन नपराउने शक्ति छन् । स्वाधिनता र स्वाभिमानका कुरा, सीमाका कुरा एमालेले मात्रै उठाउने भनेर मन नपराउनेहरु पनि छन् । हामीले राष्ट्रियता र राष्ट्रहितको पक्षमा अडान लिएका छौँ । राष्ट्रहितका पक्षमा राष्ट्रिय स्वाभिमानका कुरा अनि अडान र अन्तराष्ट्रिय उत्तरदायित्वको पनि ख्याल गरेका छौँ । त्यो मन नपराउनेहरुले हामीलाई प्रहार गरे ।’
उहाँले पार्टीमा एकमना एकता कहिल्यै नरहेको र जहिल्यै खुट्टा तान्ने प्रवृत्ति रहेका कारण समस्या भएको पनि उहाँले उल्लेख गर्नुभयो । ‘तराई मधेसका लागि हुलाकी राजमार्गको काम सुरुभयो । बेनी–जोमसोङ र कोरलानाकाको काम सुरुभयो । यस्ता केही काम हामीले गरेका छौँ । हामीले दोलखामा र दैलेख, नवलपरासी, पाल्पालगायतका ठाउँमा ग्याँस, तेल, फलामलगायतका लागि अनुसन्धान गरेर प्रक्रिया अघि बढाएका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले आत्मनिर्भरता बढाउन गरेका प्रयासहरुका उदाहरण हुन् । तर, झुट र फरेव फैलाएर मेरो नेतृत्वको सरकार ढाल्ने काम भयो ।’