ओलीको ७ पन्नाको प्रस्तावको सारः जेनजी युवाहरुले राष्ट्रिय झण्डा ओडेर सिंहदरबार र सर्वोच्च जलाउन सक्दैनन्

काठमाडौं, २९ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको दशौँ बैठकमा पार्टी अध्यय केपी शर्मा ओलीले सात पन्ने विशेष प्रस्ताव पेश गर्नुभएको छ । विशेष प्रस्ताव पेश गर्दै ओलीले प्रस्तावमा भदौ २३ र २४ गते जेनजीका नाममा भएको आन्दोलनलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रणाली र संविधान विरुद्ध आन्तरिक र बाह्य षडयन्त्रमा त्रासदीपूर्ण आक्रमण भएको आरोप लगाउनु भएको छ ।

उहाँले प्रस्तावमा विभिन्न प्रतिकुलताका बिचमा पनि सरकारले निष्ठापूर्वक काम गरिरहेको भन्दै शान्ति खलबल्याउने तत्वहरुका अनेक प्रयासहरुलाई असफल बनाउँदै अघि बढेको पनि स्मरण गराउनु भएको छ । आफ्नो कार्यकालमा डिजिटल प्रविधिको उपयोग गर्दै प्रभावकारी सेवा प्रवाहको काम अघि बढाइरहेको पनि उहाँले उल्लेख गर्नुभएको छ । त्योसँगै आर्थिक र सामाजिक क्षेत्रमा सबै जसो परिसूचकहरुमा सकारात्मक संकेतहरु देखा परेको, उत्पादन रोजगारी, अन्तराष्ट्रिय व्यापारको क्षेत्र, प्रतिव्यक्ति आय र समग्र राष्ट्रिय उत्पादनमा सुधार भैरहेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

त्यसैगरी उहाँले प्रस्तावमा अन्तराष्ट्रिय सम्वन्धन सन्तुलित ढंगले अघि बढिरहेको, बहुपक्षीय अन्तराष्ट्रिय मञ्चहरुमा नेपालको भूमिका प्रभावकारी बन्दै गएको पनि उहाँले उल्लेख गर्नुभएको छ । यस्तो अवस्थामामा संसदमा अपरिपक्क र व्यवस्थाविरोधी पार्टीहरुको आक्रोश विभिन्न रुपमा अभिव्यक्त भैरहेको र त्यसलाई पन्छाउँदै अघि बढे पनि भदौ २३ र २४ गतेको घटनालाई रोक्न नसकेको उल्लेख गर्नुभएको छ । ‘माओवादी, रास्वपा, राप्रपालगायतका शक्ति एवं प्रवृत्तिहरु सरकारका विरुद्ध, खासगरी सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का विरुद्ध सामाजिक सञ्जाललाई दुरुपयोग गर्दै भ्रम फैलाइरहेका थिए,’ उहाँले उल्लेख गर्नुभएको छ, ‘जनता र राष्ट्र, प्रगति र परिवर्तनको पक्षमा सरकारले गरेका काम र उपलब्धीहरुलाई ओझेल पार्ने धन्दामा लागि रहेका थिए । सरकारविरोधी यस्ता धन्दामा विभिन्न प्रकारका शक्ति र तत्वहरु ठूलो लगानीसहित सक्रिय थिए । नेकपा (एमाले)को विरुद्ध आम जनतामा नकरात्मक मनोविज्ञान निर्माण गर्ने धन्दामा निरन्तर लागिरहेका थिए ।’

उहाँले सरकारमा रहेर वा पार्टीबाट नीतिगत वा व्यवहारिक रुपमा गल्ती नगरेको पनि प्रष्ट पार्नुभएको छ । यद्यपि, विरोधीहरुले राम्रा कामको अनदेखा गरेर लोकतन्त्र र लोकतान्त्रिक पार्टी अनि लोकतान्धिक नेताहरुप्रति घृणा फैलाउने काम गरेको पनि आरोप लगाउनु भएको छ ।

उहाँले जेनजीका नाममा भएको आन्दोलन घोषित रुपमै शान्तिपूर्ण भएको भन्दै ओलीले जेनजीहरुले समेत शान्तिपूर्ण आन्दोलनमा विभिन्न खालका स्वार्थी तत्वहरुले उनीहरुको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाउन घुसपैठ गर्नेछन्, मानव ढालको रुपमा प्रयोग गरेर ठूलो संख्यामा विद्यार्थीहरुको हत्या हुने दुखद् स्थिति सिर्जना गराउने छन् र त्यसैको आवरणमा देश जलाउन सक्छन् भन्ने थाहा नपाउँदा शन्तिपूर्ण आन्दोलन हिंसात्मक बनेको दाबी गर्नुभएको छ । ‘हामी स्पष्ट हुनुपर्छ जेनजी युवाहरुले राष्ट्रिय झण्डा ओडेर संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत सार्वजनिक सम्पत्ति र व्यक्तिको नीजि सम्पत्तिमा आगो लगाउन सक्दैनन्,’ उहाँले भन्नुभएको छ, ‘ र त्यो उनीहरुले लगाएका पनि होइनन् ।’

उहाँले ७ पृष्ठको प्रस्तावमा भदौ २३ गते आयोजित जेनजी प्रर्दशन, संसद भवनमाथि आक्रमण, गोली प्रहार र हत्या, भदौ २४ को त्रासदीपूर्ण घटना, वर्तमान सरकारकार सम्वन्ध, प्रतिनिधि सभा विघटन, छानविन आयोग सम्वन्धमा, दुष्प्रचार र नियोजित षडयन्त्रका सम्वन्धमा, निर्वाचन सम्वन्धमा जोखिमपूर्ण बन्दै गएको शान्तिसुरक्षाको स्थिति, भ्रष्टाचार नियन्त्रण र सुशासन, नवयुवा पुस्ताको सरोकारलगायतका विषयलाई पनि प्रस्तावमा उल्लेख गर्नुभएको छ । उहाँले आफू सरकारमा रहेका बेला नवयुवाहरुलाई प्राथमिकतामा राखेर काम गरेको पनि स्मरण गर्नुभएको छ ।