एमाले केन्द्रीय कमिटी बैठकको आज अन्तिम दिन, बाँकी नेताहरूले धारणा राख्ने

काठमाडौं, ३१ असाेज । नेकपा एमालेको जारी १० औँ बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेर आज सकिने भएको छ ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा करिब १५० जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्नुहुनेछ । आफ्ना धारणा राख्न बाँकी करिब ५० जना केन्द्रीय सदस्य छन् ।

आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्नुहुनेछ । एमालेमा स्थायी र पदाधिकारी सहित ९९ जना नेताहरू रहेका छन् । ‘बोल्न बाँकी नेताहरूलाई पनि तीन मिनेट कै समय उपलब्ध हुन्छ’ प्रमुख गौतमले भन्नुभयाे ‘बैठकको अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन हुन्छ ।’

बैठकमा प्रस्तुत अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव, वर्तमान राजनीतिक परिस्थिति, घोषित निर्वाचन र पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरूको भूमिका आदिका बारेमा विशेष निर्देशन दिनुहुने गौतमले जानकारी दिनुभयाे ।

ललितपुरको भनी मण्डलस्थित रामबाघ महलमा तीन दिन अघि देखि केन्द्रीय कमिटीको बैठक जारी छ । जेन जी आन्दोलनपछि उत्पन्न विषम राजनीतिक परिस्थितिको छलफल गर्नका लागि एमालेले विशेष बैठक बोलाएको हो ।

बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय गर्दैछ ।