सिँचाइ र सडकका ५२ रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु
काठमाडौं, ९ कात्तिक । सरकारले देशभरका सिँचाइतर्फका १२ र सडकका ४० गरी जम्मा ५२ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ।
निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगरेर आयोजनाहरू अलपत्र पारेकाले ती ठेक्काहरू तोड्ने निर्णय गरिएको हो।
सार्वजनिक खरिद ऐनअनुसार कारबाही अघि बढाइने र सम्बन्धित निर्माण व्यवसायीहरूलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ।
सरकारले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए। सोही बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो।
साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ वटा रुग्ण सिँचाइ ठेक्का रद्द गरिएका छन्। यसैगरी, बबई सिँचाइ आयोजनाका ६ वटा रुग्ण ठेक्का तोड्न गत असोज ३० गते १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले आइतबार सार्वजनिक सूचनामार्फत जानकारी गराए अनुसार, १६ जेठ २०८१ र १ साउन २०८१ मा ठेक्का अन्त्य गर्ने आशयको सूचना दिइएपनि निर्माण व्यवसायीबाट सम्झौता बमोजिम काम सम्पन्न नगरी निर्माण अलपत्र पारेकाले ती ठेक्काहरू अन्त्य गरिएको हो।
कार्यालयबाट पटक पटकको अनुरोध तथा सार्वजनिक सूचना जारी गर्दासमेत काम गर्न कुनै ध्यान नदिइएको हुँदा सम्झौतामा उल्लेखित प्रावधानअनुसार कार्यसम्पादन जमानत जफत गर्ने कारबाही अगाडि बढिसकेको जनाइएको छ। साथै, सार्वजनिक खरिद कानुनको व्यवस्था बमोजिम अन्य आवश्यक कारबाही अगाडि बढाउन हालसम्म गरिएको कामको नापजाँच एवम् बाँकी कामको मूल्याङ्कन १५ दिनभित्र सम्पन्न गर्न जानकारी गराइएको छ।