काठमाडौं, ११ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनमा भएको विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसकेको भन्दै कांग्रेस महामन्त्री गगन थापा लक्षित टिप्पणी गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले थापालाई लक्षित गर्दै लेख्नुभएको छ, ‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् ।’
महामन्त्री थापाले केही दिनअघि एउटा अन्तर्वार्तामा आफ्नो घर एमालेका कार्यकर्ता र त्यसमा पनि अध्यक्ष केपी ओलीसम्म पहुँच भएकाले लुटपाट र आगजनी गरेको दाबी गर्नुभएको थियो । थापाको उक्त दाबीपछि महासचिव पोखरेलले थापाले लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसकेर एमालेलाई दोषारोपण गर्न खोजेको भन्दै रोष प्रकट गर्नुभएको हो ।
कांग्रेस महामन्त्री थापाले जेन-जी आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध सार्वजनिक रूपमा अझैँ गरेका छैनन् ।
महासचिव पोखरेलले राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही भए पनि सबैलाई कडा कारबाही गर्नुपर्नेमा जोड समेत दिनुभएको छ ।