एमाले अध्यक्ष ओलीको आह्वान: ‘जहाँ हुनुहुन्छ, फर्किनुस्, एमाले तपाईंहरूको रगत र पसिनाको घर हो’
काठमाडौं, १४ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा पार्टी छाडेर गएका वा फरक पार्टी गठन गरेका नेता–कार्यकर्ताहरूलाई पुन: एमालेमा फर्कन आह्वान गर्नुभएकाे छ ।
अध्यक्ष ओलीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै आफ्नै रगत र पसिनाकाे घरमा फर्कन अनुरोध गर्नुभएकाे हाे ।
अध्यक्ष ओलीले भन्नुभएकाे छ, ‘विगतमा नेकपा (एमाले) निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु—जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो । फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं । देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं ।’
अध्यक्ष ओलीले निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा एमालेले सधैं अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेलेको बताउनुभएकाे छ । उहाँले अनेकौं प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच एमाले नै बनाएकाे पनि उल्लेख गर्नुभएकाे छ ।
‘देशभक्तिको भावना जगाउने र विकासका संरचना निर्माण गर्ने कामको नेतृत्व यही पार्टीले गर्यो । सामाजिक सुरक्षाका कार्यक्रम ल्याउने लोक कल्याणकारी राज्यको आरम्भ यही पार्टीले गरेको हो । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न हामीले गरेका यी कामका सयौं उदाहरण छन्,’ उहाँले भन्नुभयाे ।
एमाले केवल एउटा राजनीतिक संगठन नभएको बताउँदै उहाँले यसलाई जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार भएको बताउनुभएकाे छ ।
‘यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन् । कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए । आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ । यस्तो बेला हामी मौन रहन सक्दैनौं । राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ । त्यसैले हामी एउटै परिवार हौं । हाम्रो लक्ष्य स्पष्ट छ । समृद्ध नेपाल, सुखी नेपाली । म सबैमा आह्वान गर्न चाहन्छु । कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा । हाम्रो साझा सपना साकार पार्न । निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं,’ उहाँले सामाजिक सञ्जाल मार्फत भन्नुभएकाे छ ।