भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो, सुरक्षागार्ड घाइते

काठमाडौं, १८ कात्तिक । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणाको गेट अगाडि गोली चलेको छ । गोली लागेर होटलका सुरक्षागार्ड घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गोली चलाउने समूहको पहिचान हुन सकेको छैन । उनीहरू फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो । विवाद गर्दै सो समूह होटलको गेट अगाडि आइपुगेको थियो । त्यसैक्रममा एक समूहले गोली चलाएको हो ।

गोली चलाउने समूहमा रहेका तीन जना फरार रहेकाले ती व्यक्तिहरूबारे क्यासिनोमा रहेका केही व्यक्तिहरूसँग सोधपुछ भइरहेको प्रहरीले जनाएकाे छ ।