राष्ट्रपति पौडेल स्वदेश फिर्ता, भ्रमण फलदायी

काठमाडौँ, २० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ ।

उहाँको भ्रमणबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता हुनुका साथै फलदायी भएको बताउनुभयो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीलाई राष्ट्रपति पौडेलको भ्रमणबारे जानकारी दिँदै सचिव राईले यो भ्रमणले अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थिति सुदृढ तुल्याएको उल्लेख गर्नुभयो । भ्रमणले नेपालजस्ता विकासोन्मुख राष्ट्रको हितमा आवाज बुलन्द गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।

सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सामाजिक न्याय, समावेशिता र दिगो विकासप्रति नेपालको दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले गुणस्तरीय शिक्षा, सबैका लागि स्वास्थ्य सेवा, महिला तथा युवा सशक्तीकरणका लागि विश्व समुदायबीच थप सहकार्य र हातेमालो गर्न आह्वान गर्नुभएको थियो ।

राष्ट्रपति पौडेल कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल–थानीको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक १८ देखि २० गतेसम्म दोहामा आयोजित उक्त सम्मेलनमा सहभागी हुन कात्तिक १७ गते काठमाडौँबाट प्रस्थान गर्नुभएको थियो । राष्ट्रपति पौडेलले समावेशिता र साझा समृद्धिलाई दिगो शान्ति, समुन्नति र मानवीय मर्यादाको आधारशिला भएको उल्लेख गर्दै सबैका लागि सामाजिक–आर्थिक विकास सुनिश्चित हुने भविष्य निर्माणमा जोड दिनुभएको थियो ।

राष्ट्रपति पौडेलले न्यायपूर्ण, समावेशी र दिगो विकासका लागि स्रोतसाधनमा समतामूलक पहुँच दोहा घोषणापत्रको प्रभावकारी कार्यान्वयन तथा अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको सचिव राईले बताउनुभयो ।