मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा सारिए

मुस्ताङ, २६ कात्तिक । उत्तरी चीनसँग सिमाना जोडिएका मुस्ताङका माथिल्लो भेगका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थानान्तरण गरिएको छ। भारी हिमापातको जोखिम र अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूलाई बेँसीमा सारिएको हो।

लोमान्थाङ गाउँपालिकामा तीन सरकारी सामुदायिक र चार धार्मिक गुम्बा विद्यालय सञ्चालनमा छन्। गाउँपालिकाका सामुदायिक र गुम्बा विद्यालयहरू सबै जाडो छल्न बेँसीमा स्थानान्तरण गरिसकिएको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिनुभयो।

छोन्हुप झिन्जु आधारभूत विद्यालय: दसैँअगावै पोखरा हेम्जामा रहेको आफ्नै निजी भवनमा घुम्ती कक्षा चलाउन सारिएको।
राष्ट्रिय आधारभूत लोमान्थाङ: तिहारलगत्तै पोखरा लेखनाथस्थित तालचोक किमबेँसीमा भाडाको भवनमा स्थानान्तरण गरिएको।
दिव्यदीप माध्यमिक विद्यालय छोसेर: तिहारलगत्तै पोखरास्थित विजयपुरमा रहेको निजी विद्यालय भवनमा स्थानान्तरण गरिएको।
धार्मिक गुम्बा विद्यालयहरू: मञ्जुश्री, निफुक नाम्डोल, पाल एण्ड नाम्ग्याल र महाकरुणा धार्मिक गुम्बा विद्यालयहरू पनि आफ्नै खर्चमा घुम्ती कक्षा चलाउन पोखराका विभिन्न स्थानमा सारिएको।

संघीय सरकारले घुम्ती विद्यालय सञ्चालन तथा व्यवस्थापन शीर्षकमा लोमान्थाङका तीन सामुदायिक विद्यालयलाई वार्षिक सशर्त अनुदानस्वरूप प्रतिविद्यालय रु ३ लाख ५० हजार उपलब्ध गराउँछ। यसका अतिरिक्त हिमाली आवासीय छात्रावास अनुदान कार्यक्रमअन्तर्गत कक्षा ४ देखि माथिका विद्यार्थीलाई जनही रु ५ हजार उपलब्ध हुने सुविधा छ। लोमान्थाङको राष्ट्रिय आधारभूत, झिन्जु आधारभूत र दिव्यदीप माध्यमिक विद्यालयका तल्ला कक्षाहरूलाई गाउँपालिकाले प्रतिविद्यार्थी मासिक रु ४ हजार अनुदान दिने गरेको छ।

लोमान्थाङजस्तै लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत तीन सामुदायिक र दुई गुम्बा विद्यालय कात्तिक १० गते बेँसीमा सारिएको शिक्षा शाखा अधिकृत प्रचण्ड न्यौपानेले जानकारी दिनुभयो।
चराङ आधारभूत चराङ: १६ जना विद्यार्थीसहित पोखरा हेम्जामा सारिएको।
घमी आधारभुत घमी: ५६ जना विद्यार्थीसहित पोखरा विजयपुरमा सारिएको।
जनज्योति आधारभूत घिलिङ: ८४ जना विद्यार्थीसहित तनहुँको शुक्लागण्डकी दुलेगौडामा स्थानान्तरण गरिएको।

धार्मिक गुम्बा विद्यालयहरू: चराङका दुई गुम्बा विद्यालय पनि जाडो छल्न बेँसी झरिसकेका छन्।
आर्थिक सहयोग (लोघेकर):
चराङ र जनज्योति आधारभूत विद्यालयलाई घुम्ती विद्यालय सञ्चालन तथा व्यवस्थापन कार्यक्रम शीर्षकमा प्रतिविद्यालय रु ३ लाख ५० हजार प्राप्त हुनेछ। संघीय सरकारले दिने अनुदानले हिउँदको चार महिना घुम्ती कक्षा चलाउन बजेट अभाव हुने भएकाले गाउँपालिकाले सामुदायिक विद्यालयका लागि एकमुष्ट २५ लाख रुपैयाँ विनियोजन गरेको छ।

वारागुङ मुक्तिक्षेत्रको छुसाङस्थित जननर्मल माध्यमिक विद्यालय गत वर्षसम्म जाडो छल्न बेँसी झर्ने गरेकोमा चालु शैक्षिक सत्रमा घुम्ती कक्षाका लागि बेँसी नझर्ने निर्णय भएको शिक्षा शाखा अधिकृत रेखा पन्तले जानकारी दिनुभयो। यद्यपि, कागबेनीस्थित कागछोदे गुम्बा विद्यालय भने घुम्ती कक्षा चलाउन बेँसीमा स्थानान्तरण भएको छ।

वार्षिक परीक्षामा एकरूपता ल्याउन घुम्ती कक्षाले असहज हुने, लगातार हिउँदमा कक्षा चलाउँदा शिक्षकहरूले पाउनुपर्ने बिदा कटौती गर्न गाह्रो हुने र संघीय सरकारले उपलब्ध गराउने अनुदानले घुम्ती खर्च धान्न नसक्ने अवस्था रहेकाले गाउँपालिकाबाटै घुम्ती कक्षा नचलाउने निर्णय भएको अधिकृत पन्तको भनाइ छ।

माथिल्लो मुस्ताङमा हिउँदको चिसोका कारण विद्यार्थीहरूलाई रुघाखोकी र निमोनियाले बिरामी पर्ने सम्भावना हुने र हिमपातको जोखिम हुने भएकाले घुम्ती कक्षाको आवश्यकता छ। साथै, विद्यालयका अधिकांश अभिभावकहरू जाडो छल्न र घुम्ती व्यापारमा बेँसी झर्ने परम्पराले पनि विद्यालयहरूलाई स्थानान्तरण गर्नुपर्ने हुन्छ।

यसरी जाडो छल्न झरेका घुम्ती विद्यालयहरू चालु शैक्षिक सत्र सकेर नयाँ शैक्षिक सत्र साविककै स्थानमा सञ्चालन गर्न वैशाख महिनामा माथि उक्लिने गर्छन्।

माथिल्लो दुई गाउँपालिकाका विद्यालय घुम्तीमा झरे पनि वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालयहरू भने हिउँदको पुस र माघ महिना हिउँदे जाडो बिदा दिने गर्छन्। यसरी हिउँदमा बिदा भएका विद्यालयहरू फागुनको पहिलो साता सञ्चालन हुने गर्छन्। यहाँका तल्ला तीन पालिकामा शिक्षकहरूलाई ४५ दिने हिउँदे बिदा र १५ दिन सट्टा बिदा गरी दुई महिना शैक्षिक क्रियाकलाप स्थगित गर्ने गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *