मुस्ताङमा आलु उत्पादनमा उल्लेख्य वृद्धि: ६२ करोड ८२ लाख बढीको बिक्री
मुस्ताङ, ९ मंसिर । मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्ष २०८२/८३ मा ६२ करोड ८२ लाख ३५ हजार ४०० रुपैयाँ बराबरको आलु उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार, यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले गत वर्षको तुलनामा चालु वर्ष आलुको उत्पादकत्व र उत्पादन क्षेत्र आंशिक रूपमा विस्तार हुँदा ११ करोड ८४ लाख ७५ हजार ४०० रुपैयाँ बराबरको आलु उत्पादन वृद्धि भएको जानकारी दिएका छन्। केन्द्रका अनुसार चालु आवमा प्रतिहेक्टर २० दशमलव २२ मेट्रिक टन आलु उत्पादन भएको छ, जुन गत वर्षभन्दा प्रतिहेक्टर करिब दुई मेट्रिक टन बढी हो। आलु उत्पादनको क्षेत्र पनि १८ हेक्टरले वृद्धि भएको छ।
गुरुङका अनुसार, चालु आवमा जिल्लाका किसानले फार्म गेट औसत मूल्य प्रतिकेजी रु ६५ मा आलु बिक्री गरेकाले सोहीअनुसार कुल उत्पादन मूल्यको लेखाजोखा गरिएको हो। कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको संयुक्त समन्वय र सहकार्यमा स्थानीय तहका कृषि प्राविधिकको उपस्थितिमा गरिएको क्रपकटिङ विधिबाट आलु उत्पादनको लेखाजोखा गरिएको उनले बताए। यस विधिबाट माथिल्लो, मध्य र तल्लो मुस्ताङलाई तीन क्षेत्रमा विभाजन गरी धेरै फल्ने, मध्यम फल्ने र कम फल्ने आलुको उत्पादन तथ्याङ्क सङ्कलन गरी औसत उत्पादन मापन गरिएको छ।
गत वर्ष जिल्लाका पाँच स्थानीय तहमा गरी कुल चार सय ६० हेक्टर क्षेत्रमा आठ हजार ४९६ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ, जसमा प्रतिहेक्टर १८ दशमलव ३८ प्रतिशत आलु उत्पादन भएको थियो। गत वर्षको तुलनामा चालु वर्षमा १३ दशमलव ७६ प्रतिशत स्याउ उत्पादन भएको छ।
गत वर्षको तुलनामा चालु वर्ष एक हजार १६९ मेट्रिक टन आलु उत्पादन वृद्धि भएको गुरुङले बताए। गत वर्ष मुस्ताङमा प्रतिकेजी रु ६० मा आलु बिक्री भएकामा चालु वर्ष रु पाँच वृद्धि भई रु ६५ मा बिक्री भएको उनको भनाइ छ। चालु आवमा यहाँका पाँच स्थानीय तहमा उत्पादन भएको आलुमध्ये ६० प्रतिशत जिल्ला बाहिर, ३० प्रतिशत जिल्लाभित्र र १० प्रतिशत बीउ प्रयोजनका रूपमा खपत भएको हो। यहाँ घरायसी प्रयोजन र होटल रेष्टुराँमा एकतिहाइ आलु खपत हुने गरेको केन्द्र प्रमुख गुरुङले जानकारी दिए। यहाँ स्याउबालीभित्र अन्तरबालीका रूपमा पनि आलुखेती गर्ने गरिएको छ।
हिमाली जिल्लाको उच्च भूगोलको चिसो हावापानीमा उत्पादन हुने मुस्ताङी आलु स्वादिलो र पोषिलो हुन्छ। मुस्ताङको आलु तरकारी, उसिनेर तथा साँधेर खाने प्रचलन छ। यहाँ उत्पादन गरिने लोकल सेतो आलु सहरबजारका उपभोक्ता तथा जिल्लामा आएका पर्यटकले औधी रुचाउने गर्छन्। सहरबजारका थकाली भान्साघर होस् वा ठूला तारेहोटलमा किन नहोस्, मुस्ताङी आलु आमउपभोक्तामाझ स्थापित भइसकेकाले पनि मुस्ताङी आलुको माग अधिक छ। पछिल्लो समय कोरला सडक सहज हुँदै जान थालेपछि मुस्ताङी स्याउपछि आलुको माग बढेको घरपझोङ–४ जोमसोमका किसान अजित थकालीले बताए।