एसीसी यू–१९ प्रिमियर कपमा निरजको शतकको सहयोगमा नेपालको जित
काठमाडौँ, ९मङ्सिर । एसीसी यू–१९ प्रिमियर कपमा मङ्गलबार नेपालले सउदी अरबलाई आठ विकेटले हराएर विजयी सुरुआत गरेको छ । प्रारम्भिक ब्याट्सम्यान निरज यादवले ९० बलमा ११४ रन बनाएपछि नेपालको जित सहज बन्यो ।
संयुक्त अरब इमिरेट्स (युएइ)को आजमानस्थित कारवान मैदानमा भएको खेलमा टस हारेपछि पहिले ब्याटिङ गरेको सउदी अरबले निर्धारीत ५० ओभरमा नौ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । नेपालले ३०.४ ओभरमै दुई विकेटको क्षतिमा २१९ रन बनाएर लक्ष्य हािसल गर्यो ।
नेपालका लागि वंश क्षेत्रीले २० बलमा चार चौका र एक छक्कासहित ३० रन र निश्चल क्षेत्रीले अविजित ६६ रन बनाएर नेपालको जितमा योगदान दिए ।
यसअघि सउदीका लागि तेस्रो क्रमका ब्याट्सम्यान मोहम्मद जुबेर सुनसराले ७६ बलको सामना गरी सर्वाधिक ४८ रन बनाएका थिए । नेपालका लागि कप्तान अशोक धामीले नौ ओभरमा ३४ रन दिएर दुई तथा दयानन्द मण्डल, सुशील रावल, सिब्रिन र दर्श सोनारले एक–एक विकेट हासिल गरे ।