प्राचीन दक्षिणी अफ्रिकीहरूको डिएनएमा अनौठो रहस्य: मानव विकासक्रमको नयाँ पाटो उजागर
आजभन्दा ३ लाख वर्षअघि अफ्रिकामा फैलिएका मानव पुर्खाहरूको वंशाणुगत (जेनेटिक) विकासक्रमबारे एक नयाँ अध्ययनले रोचक तथ्य बाहिर ल्याएको छ। ‘नेचर’ पत्रिकामा डिसेम्बर ३ मा प्रकाशित अध्ययनअनुसार, प्राचीन दक्षिणी अफ्रिकीहरूले मानव आनुवंशिक विकासलाई एउटा बिल्कुलै नयाँ दिशातर्फ लगेको पाइएको छ।
अध्ययनले देखाएअनुसार, आधुनिक मानिसको तुलनामा ती प्राचीन अफ्रिकीहरूको डिएनए (DNA) मा धेरै विविधता थियो। अझ रोचक कुरा त के छ भने, उनीहरूमा घामबाट छालालाई जोगाउने (सन प्रोटेक्सन) विशेष वंशाणुगत क्षमता विकास भएको थियो।
३ लाख वर्ष पुरानो इतिहास र ‘क्षेत्रीय मोड’
अध्ययनका अनुसार सबै प्राचीन र आधुनिक ‘होमो सेपियन्स’ मा देखिने महत्त्वपूर्ण वंशाणुगत परिवर्तनहरू ३ लाख वर्षभन्दा अघि नै अफ्रिकामा फैलिसकेका थिए। तर, त्यसपछि मानव विकासक्रमले एउटा ‘क्षेत्रीय मोड’ लियो।
झन्डै ३ लाख वर्षअघि देखि पछिल्लो केही हजार वर्षसम्म, प्राचीन दक्षिणी अफ्रिकीहरूले महादेशका अन्य भागका मानिसहरूभन्दा बेग्लै र स्वतन्त्र रूपमा आफ्ना वंशाणुगत गुणहरू विकास गरे।
स्विडेनको उपसाला विश्वविद्यालयका इभोलुस्नरी जेनेटिसिस्ट (विकासवादी आनुवंशिकीविद्) म्याथियास जाकोब्सन भन्छन्, “हामीले दक्षिणी अफ्रिकाको प्रागैतिहासिक जनसंख्या धेरै लामो समयसम्म अलग्गै रहेको (आइसोलेसन) प्रमाण पायौं। यसले होमो सेपियन्सको विकासमा उक्त क्षेत्रको कति ठूलो महत्त्व थियो भन्ने देखाउँछ।”
आधुनिक डिएनएले नदेखाएको सत्य
यसअघिका अध्ययनहरू वर्तमान मानिसहरूको डिएनए परीक्षणमा आधारित थिए, जसले गर्दा प्राचीन दक्षिणी अफ्रिकीहरूमा रहेको विशाल वंशाणुगत विविधता ओझेलमा परेको थियो। जाकोब्सन र उनका सहकर्मीहरूका अनुसार, यो जानकारीको अभावमा दक्षिणी अफ्रिकीहरूले कसरी आफ्नै किसिमका डिएनए परिमार्जनहरू विकास गरे भन्ने कुरा वैज्ञानिकहरूले बुझ्न सकेका थिएनन्।
अध्ययनले १४०० वर्षभन्दा अघि बाँचेका दक्षिणी अफ्रिकीहरूमा आजका मानिसहरूमा भन्दा धेरै वंशाणुगत विविधता रहेको फेला पारेको छ।
अध्ययन विधि
जाकोब्सनको टोलीले हालको दक्षिण अफ्रिका र छिमेकी राष्ट्रहरूमा १०,२०० देखि १५० वर्षअघि बाँचेका २८ जना व्यक्तिका हड्डी र दाँतबाट निकालिएको डिएनए विश्लेषण गरेको थियो।
अनुसन्धानकर्ताहरूले ती नतिजाहरूलाई महादेशका अन्य भागमा ७,९०० वर्षअघि बाँचेका तीन प्राचीन अफ्रिकी, ७,००० देखि ४४,४०० वर्षअघिका चार प्राचीन युरोपेली, तीन निअन्डरथल, एक डेनिसोभन, दक्षिणी अफ्रिकाका १२ जना ‘सान’ समुदायका शिकारी-संग्रहकर्ता र विश्वका अन्य भागका २०८ जना आधुनिक मानिसहरूको डिएनएसँग तुलना गरेका थिए।
घाम र मिर्गौलाको सम्बन्ध
प्राचीन दक्षिणी अफ्रिकीहरूमा मात्र पाइने तीनवटा विशेष जीन भेरियन्टहरू (वंशाणुगत प्रकार) फेला परेका छन्, जो पराबैजनी किरण (UV light) बाट सुरक्षा, छालाका रोगहरू र छालाको रङसँग सम्बन्धित छन्। सुख्खा घाँसे मैदान र चर्को घाम भएको वातावरणमा बाँच्नका लागि उनीहरूमा यस्तो डिएनए परिवर्तन भएको हुन सक्ने जाकोब्सनको सुझाव छ।
त्यस्तै, ३ लाख वर्षअघि सबै होमो सेपियन्समा विकास भएको तर निअन्डरथल वा डेनिसोभनमा नभएको वंशाणुगत गुणमध्ये धेरैजसो ‘मिर्गौलाको कार्यक्षमता’ सँग सम्बन्धित पाइएको छ। सामान्यतया मिर्गौला सम्बन्धी जीनलाई मानव विकासको केन्द्रमा राखिँदैनथ्यो। तर, सुख्खा वातावरणमा शरीरमा पानी सञ्चय गर्न यी जीनहरूले मद्दत गरेको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ।
विज्ञहरूको मत
यो अध्ययनले मानव विकासक्रमबारे चलेको पछिल्लो बहसलाई नयाँ मोड दिएको छ। केही समयअघि मात्र अफ्रिकाका विभिन्न क्षेत्रका घुमन्ते जनसंख्याबीचको मिलनबाट होमो सेपियन्सको विकास भएको प्रस्तावना आएको थियो।
जर्मनीको म्याक्स प्लांक इन्स्टिच्युटकी पुरातत्वविद् एलिनोर सेरीले उक्त ‘घुमन्ते मिलन’ विचारको वकालत गर्दै आएकी छिन्। उनी जाकोब्सनको अध्ययनले प्राचीन दक्षिणी अफ्रिकीहरूको वंशाणुगत विकासबारे महत्त्वपूर्ण जानकारी दिएको स्वीकार गर्छिन्। तर, अफ्रिकामा मानव विकासक्रमको गहिरो इतिहास अझै स्पष्ट नभएको उनको तर्क छ।
“अफ्रिकाको विशाल भूभागमा मानव विकासको इतिहासबारे अझै धेरै कुरा हामीलाई थाहा छैन,” सेरी भन्छिन्।(साइन्सन्यूज)