नागढुङ्गा–मलेखु सडक आंशिक बन्द, मुग्लिन–मलेखु खण्डको तीन ठाउँमा भित्तो काट्ने तयारी

चितवन, २२ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक यही मङ्सिर २४ देखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा आंशिक बन्द हुने भएको छ। यस अवधिमा मुग्लिन–मलेखु सडक खण्डका तीन ठाउँमा पहाडको भित्तो काट्ने तयारी गरिएको छ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका आयोजना प्रमुख सजना अधिकारीका अनुसार, सवारी चाप कम हुने भएकाले चितवनको घोप्टेभिर र धादिङको खतौडी तथा डाहाकीमा भित्तो काट्ने काम गर्न लागिएको हो।

यी तीनवटै ठाउँमा करिब ४० मिटर लम्बाइ र ८० मिटर उचाइको पहाडको भित्तो काट्नुपर्नेछ, जसबाट हालको सात मिटर चौडा सडकलाई दुई मिटर थप विस्तार गरिनेछ।

आयोजनाका इन्जिनियर विजय दरैले सडक बन्द नगरी भित्तो काट्न सम्भव नभएकाले यही अवसरलाई सदुपयोग गर्न लागिएको बताउनुभयो। यसैबीच, सो सडकखण्डको धादिङको विशालटार क्षेत्रमा आइतबारदेखि कालोपत्रे सुरु भएको छ।

हालसम्म सडक स्तरोन्नतिको ३५ प्रतिशत काम सम्पन्न भएको छ। ३८.८६ किलोमिटर सडकमध्ये ८ किलोमिटर कालोपत्रे भइसकेको छ भने थप ५ किलोमिटर कालोपत्रेको तयारी भइरहेको छ। यस खण्डमा २.२ किलोमिटर छ लेनको (मलेखु, बेनीघाट र मुग्लिन क्षेत्रमा), ७.२ किलोमिटर चार लेनको (रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा) र २.३ किलोमिटर तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइनेछ। बाँकी सडक दुई लेनको हुनेछ।

विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी शर्मा–जेडआइसिजीले ४ अर्ब ८० करोड ५९ लाखमा यो सडक स्तरोन्नतिको ठेक्का लिएको थियो। आगामी पुस १५ गते ठेक्काको म्याद सकिँदै छ तर डिजाइन परिमार्जनलगायतका कारण म्याद थपको प्रक्रिया अघि बढेको दरैले जानकारी दिनुभयो। सडकमा नाला निर्माण, पहिरो रोकथाम, पर्खाल लगाउने र सडक सुरक्षालगायतका कामहरू बाँकी छन्। विश्व बैंकको सहयोगमा निर्माण भइरहेको यो सडकमा सवारीसाधनको उच्च चाप र कच्चा पदार्थको अभावले काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ।