सोलुखुम्बुमा हिउँले ढाकेका भाग घट्दै, जलवायु परिवर्तनको गम्भीर असर

सोलुखुम्बु, २५ मङ्सिर । दशकौँदेखि हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुचुरोहरूले परिचित सोलुखुम्बु जिल्लामा पछिल्ला दिनहरूमा हिमालमा हिउँ कम पर्न थालेको छ। जलवायु परिवर्तनको प्रत्यक्ष असरका रूपमा यहाँका हिमालहरूले आफ्नो सेतो आवरण गुमाउँदै गएका छन्, जसले पर्यटक र स्थानीयवासी दुवैलाई चिन्तित बनाएको छ।

खुम्बुका वृद्ध पासाङ शेर्पा भन्नुहुन्छ, “अर्कै युग सुरु भएको जस्तो लाग्छ। बाल्यकालदेखि सेताम्य हिमाल मात्रै देख्थ्यौँ, तर अहिले त पहाडको आधा भाग कालो चट्टानजस्तो देखिन्छ। हेर्नुस् त हाम्रो आँखैअघि देखिएका यी हिमाल कहाँ हिमालजस्ता छन् र? कति धेरै फरक भइसक्यो।”

दुई दशकअघिसम्म नाम्चे, खुम्जुङ, तेङ्बोचे, लोबुचेदेखि गोरक्षेपसम्मका माथिल्लो भाग हिउँले भरिएको देखिन्थ्यो। तर, हालका वर्षमा हिउँ पर्ने समय छोटिएको मात्र होइन, पर्वतको सतहमा टाँसिएको हिउँका कण पनि तीव्रगतिमा पग्लिन थालेको स्थानीय लामाकाजी शेर्पाले बताए। सगरमाथा, ल्होत्से, नुप्चे, आमादब्लम, थामसेर्कुजस्ता हिमालहरू वर्षभरी सेतो हिउँले ढपक्कै ढाकिने गरे पनि अहिले कालो चट्टान र पर्वतका रङ्ग स्पष्ट देखिनु सामान्य दृश्य बनेको छ।

सगरमाथा क्षेत्र अवलोकनका लागि आउने पर्यटकहरू यो अस्वभाविक दृश्य देखेर अचम्मित हुने गर्छन् भने स्थानीयलाई भने यो अब सामान्य लाग्न थालेको छ। खुम्जुङका फुडोमा शेर्पा भन्नुहुन्छ, “भ्रमणकर्ताहरूको जिज्ञासापछि हामी पनि सोच्न बाध्य हुन्छौँ नत्र अब त हामीलाई सामान्य जस्तै लाग्न थालिसक्यो किनकि यो प्रक्रिया तीव्रगतिमा बढिरहेको छ। सोधौँ हामीले कसलाई सोध्ने? रोकौँ कसरी रोक्ने? केही विकल्प नहुँदा हामी चुपचाप बस्न बाध्य छौँ।”

सगरमाथा राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार पृथ्वी तातो हुँदा हिमालको हिउँ हरेक वर्ष पातलो हुँदै गएको छ र हिउँले ढाकेका भागहरू घट्दै गएका छन्।
हालका वर्षमा मौसमचक्र नै उल्टो भएको स्थानीयको बुझाइ छ। जोरसल्लेका पेमा शेर्पा भन्नुहुन्छ, “पहिलेदेखि जाडो कडा हुन्थ्यो तर सहन सकिन्थ्यो। अहिले भने जाडोमा हड्डी नै कटकट दुख्ने गरी चिसो हुन्छ। गर्मीमा त झनै, हिमालकै काखमा बसेर पनि पसिना आउने गरी तातो हुन्छ।”

उच्च हिमाली क्षेत्रमा सन् १९७० पछि तापक्रम करीब १.५ डिग्री सेल्सियसले बढेको बताइएको छ। वातावरणविद् राजन थापाका अनुसार तापमानले रेखा नाघेपछि हिमालको सतहमा जम्ने हिउँको मात्रा घट्ने, जमेको हिउँ द्रुत गतिमा पग्लने र पर्वतको चट्टानी भाग खुला देखिनु स्वाभाविक प्रक्रियाजस्तै बन्दै गएको छ। उहाँ भन्नुहुन्छ, “हिमालमा कालो रङ्ग देखिनु केवल हिउँ पग्लिनुको कारण होइन। विशेष कारणमध्ये हिमालबाट खसेको ठूलो चट्टान सतह, सुक्खा हिउँ पग्लेर बनेको चट्टानी पट्टी, वायुमण्डलबाट जम्मा हुने ब्ल्याक कार्बन र निकुञ्ज क्षेत्रमा बढ्दो मानवीय गतिविधि मुख्यरूपमा उल्लेखनीय छन्।”

गत वर्षको साउन ३२ गते शुक्रबार दिउँसो थामेखोलामा आएको बाढीले खुम्बु क्षेत्रमा ठूलो वितण्डा मच्चाएको थियो। यसले २० भन्दा बढी घरमा क्षति पुर्याउनुका साथै विद्यालय, स्वास्थ्यचौकीसहित सरकारी संरचना, पर्यटक पदमार्ग, स्थानीयको घरखेत, कामचलाउ संरचना, पशुका गोठ र जलविद्युत आयोजनासमेत बगाएर लगेको थियो। थामेको बाढी तल झर्दै आइपुग्दा फाक्दिङ–नाम्चे जाने मुख्य पर्यटकीय पदमार्ग नै कटान भएको थियो।

खुम्बु क्षेत्रको पर्यटनलाई नेपालको सम्पूर्ण पर्यटन आयको मेरुदण्ड मानिन्छ, तर त्यही मेरुदण्ड जलवायु सङ्कटका कारण हरेक वर्ष कमजोर हुँदै गएको छ। फेरिचे, इम्जा र खुम्बु क्षेत्रमा हिमतालको विस्तार तीव्र गतिमा बढेको छ। इम्जा ताल २० वर्षमा ६५ प्रतिशतले ठूलो भएको तथ्यले खुम्बु क्षेत्रमा जलवायु परिवर्तन कति तीव्र छ भन्ने स्पष्ट सङ्केत दिएको छ।

इम्जा, थामसेर्कु बेसिन, खुम्बु बेसिनजस्ता क्षेत्र अहिले उच्च जोखिम सूचीमा रहेका छन्। खुम्बुका पशी लामा भन्नुहुन्छ, “पहिला हामी हिमताल फुट्ने कथा सुन्थ्यौँ, अब त्यसैको डर लिएर दिन बित्छ। हिउँ पग्लिएर ताल ठूलो हुँदै गएपछि यहाँका गाउँ, पुल, बाटो, बस्ती सबै जोखिममा छन्।”

यहाँको पहिचान र जीवनशैली हिमालसँग गाँसिएको छ। सधैँ हिउँले भरिएको चिसो मौसममा गोठमा पशु राख्ने, पानी हिउँबाट पगालेर प्रयोग गर्ने, खेतीपाती तय गर्ने परम्परा पनि बदलिन थालेको छ। हिउँ कम परेपछि खोलानालामा पानी घटेको छ। दुधकोशी, इम्जा खोला, खुम्बु खोलाजस्ता स्रोत वर्षायामपछि मात्र बढ्छन्, तर हिउँ पग्लिने गति अनिश्चित भएकोले सुक्खा मौसममा पानीको अभाव देखिन थालेको छ।

जलवायु परिवर्तनसँगै ट्रेकिङ मार्गमा पहिरो, हिउँपहिरो र चट्टान खस्ने जोखिम बढेको स्थानीय गाइड बल दर्नालको तर्क छ। उहाँ भन्नुहुन्छ, “पहिला जसरी योजना बनाइन्थ्यो, अहिले मौसम अनिश्चित भएकाले पर्यटकका लागि जोखिमको हिसाबले धेरै सावधानी आवश्यक हुन्छ।” यहाँको पहिचान नै जोखिममा पर्न सक्ने आरोही स्पीडकाजी शेर्पाको चिन्ता छ।