लुम्बिनी लायन्स एनपीएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

काठमाडौँ, २५ मङ्सिर ।  नेपाल प्रिमियर लिग (एनपीएल)काे दोस्रो संस्करणमा लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किङ्सलाई ४० रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो। अब लुम्बिनी लायन्सले शनिबार हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनको मध्यम योगफल तयार पारेको थियो। १३५ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्सले भने १७.४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटिन पुग्यो। विराटनगरका लागि साम हेजल्टले सर्वाधिक ३४ रन बनाए भने नरेन भट्टले २१ रन जोडे।

बलिङतर्फ लुम्बिनीका लागि तिलक भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। यस्तै, रूबेन ट्रम्पलम्यान, अभिषेश गौतम र जेजे स्मिथले २-२ विकेट हात पारेर विराटनगरको ब्याटिङ ध्वस्त पारेका थिए।

त्यसअघि, लुम्बिनी लायन्सको ब्याटिङमा डार्शी शर्टले सर्वाधिक ४५ रनको योगदान दिए। उनले ४१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे। कप्तान रोहितकुमार पौडेलले ३० बलमा २ चौका र २ छक्काको मद्दतमा महत्त्वपूर्ण ३४ रन बनाए। यस्तै, निशोसन डिक्वेलाले २२ बलमा ४ चौका प्रहार गर्दै २९ रन जोडे भने रुबेल ट्रम्पलम्यान ११ रनमा अविजित रहे।

विराटनगरका लागि बलिङमा सुवास भण्डारी र प्रशित जिसिले समान ३-३ विकेट लिएका थिए। कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

एनपीएलको फाइनल खेल शनिबार हुनेछ, जहाँ लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।