कोरिखामा घरबासले फेरिँदै महिलाको दैनिकी: आत्मनिर्भरताको बाटोमा अग्रसर

तनहुँ, २८ मङ्सिर । पहिला खेतीपातीमा रमाउने र घरधन्दामा सीमित रिखा गाउँका महिलाहरूको दैनिकी होमस्टे (घरबास) सञ्चालनमा आएपछि बदलिएको छ। तनहुँको बन्दीपुर गाउँपालिका-५ मा रहेको कोरिखा सामुदायिक घरबासले गाउँमा आयआर्जनको नयाँ माध्यम बन्नुका साथै यहाँका महिलालाई आत्मनिर्भर बन्न प्रेरित गरेको छ।

विसं २०७५ देखि सञ्चालनमा आएको कोरिखा सामुदायिक घरबास सुरुमा २४ परिवारमध्ये ११ परिवारको सहभागितामा सुरु भएको थियो। अहिले यसको विस्तार हुँदै गएको छ। सामुदायिक घरबासको आफ्नै भवन निर्माण सम्पन्न भइसकेको र ५० जना पाहुना सहजै बस्न मिल्नेगरी संरचना बनाइएको घरबासकी अध्यक्ष सावित्री गुरुङले जानकारी दिनुभयो।

गाउँमा रोजगारीको अभावका कारण युवा वैदेशिक रोजगारीमा जान बाध्य भएकाले युवालाई गाउँमै रोक्न सकियोस् भन्ने उद्देश्यले आफ्नै ठाउँमा केही गरौँ भन्ने सोचबाट होमस्टे सुरु गरेको गुरुङले बताउनुभयो।

कोरिखा क्षेत्रमा घरबास सञ्चालन गरिरहनुभएकी सोममाया गुरुङले भन्नुभयो, “पहिला घरधन्दा र खेतीपातीमै समय बित्थ्यो। होमस्टे सुरु भएपछि पाहुनालाई सेवा दिन पाउँदा सानो भए पनि आम्दानीको बाटो खुलेको छ। आफ्नै घरबाट आम्दानी हुन थालेपछि आत्मविश्वास पनि बढेको छ।”

अर्की घरबास सञ्चालक चिनिमाया गुरुङले आम्दानीको स्रोत स्थापित हुँदै गएपछि आत्मविश्वास बढ्नुका साथै गाउँमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाएको बताउनुभयो। कम आम्दानी भए पनि घरखर्च चलाउन सहज भएको उहाँको भनाइ छ। पाहुनासँग घुलमिल हुँदा आफ्नो संस्कृति, कला, परम्परा चिनाउन पाउँदा खुसी लाग्ने अनुभव उहाँको छ।

घरबासमा आउने पाहुनालाई बेलुकाको खाजा, खाना र बास तथा बिहानको खाजासहित प्रतिव्यक्ति रु ८०० को एकमुष्ट योजना (प्याकेज) उपलब्ध गराइने चिनिमायाले जानकारी दिनुभयो। “यहाँ विशेषगरी स्थानीयस्तरमा उत्पादित ढिँडो, लोकल कुखुरा, खसी तथा बोकाको मासु, कोदोको रोटी र मह खुवाउने गरिन्छ। साथै स्थानीय संस्कृति झल्कने कौरा, चुड्का र घाटु नृत्यसमेत प्रस्तुत गरिन्छ,” उहाँले भन्नुभयो।

पर्यटन पहुँचका हिसाबले पनि कोरिखा सहज स्थानमा पर्दछ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पाबाट करिब ६ किलोमिटर दूरीमा रहेको कोरिखा सवारीसाधनबाट करिब १५ मिनेटमा पुग्न सकिन्छ। त्यस्तै, डुम्रेबाट बन्दीपुर हुँदै वा बन्दीपुर बजारबाट बाहुन भञ्ज्याङ पार गरी करिब १५ मिनेटको सवारीयात्रामा कोरिखा पुग्न सकिन्छ।