ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु

ताप्लेजुङ, ६ पुस । ताप्लेजुङमा भरुवा बन्दुकमा बारुद भर्ने क्रममा अचानक पड्किँदा एक युवकको ज्यान गएको छ । जिल्लाको मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षीय फुर्वा शेर्पाको आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (प्रहरी नायव उपरीक्षक) वेदप्रसाद गौतमका अनुसार शेर्पाको घाँटीमा गोली लागेको थियो । स्थानीय तिलोकसिंह लिम्बूको अलैंची बगानमा बन्दुकसहित शेर्पाको शव फेला परेको हो ।

घटनाबारे वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई जानकारी गराएका थिए । जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । मृतक शेर्पाले बन्दुकमा बारुद भरिरहेकै समयमा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताएको छ ।