जाडो बढेसँगै पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ, १० पुस । मुस्ताङमा हिउँदको समयसँगै पर्यटकीय चहलपहल घटेपछि पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरिएको छ ।

मुस्ताङमा नियमित उडान भर्दै आएका निजी विमान कम्पनीहरूले ‘अफ सिजन’ र प्रतिकूल मौसमलाई कारण देखाउँदै उडान बन्द गरेका हुन् ।

नागरिक उड्डयन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलका अनुसार समिट एयरलाइन्स र तारा एयरलाइन्सले आगामी तीन महिनाका लागि आफ्ना सबै नियमित उडानहरू स्थगित गरेका छन् । हिउँदयाममा हुने हिमपातको सम्भावना, अत्यधिक चिसो र पर्यटकीय सिजन सकिएका कारण उडान रोकिएको उहाँले जानकारी दिनुभयो ।

तारा एयरलाइन्सका मुस्ताङ स्टेसन इन्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च १ सम्मका लागि उडान स्थगित गरेको बताउनुभयो । यस्तै, समिट एयरलाइन्सले पनि आगामी दुई महिनासम्मका लागि नियमित उडान नहुने जनाएको छ ।

नियमित हवाई उडान स्थगित भए पनि चार्टर उडान र आपत्कालीन अवस्थाका लागि हेलिकोप्टर सेवा भने सुचारु रहने कार्यालयले जनाएको छ । हिउँदको समयमा मुस्ताङमा तीव्र गतिको हावा चल्ने र मौसम बारम्बार परिवर्तन हुने भएकाले हवाई उडान जोखिमपूर्ण मानिन्छ ।

पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक खण्डको स्तरोन्नति भएसँगै मुस्ताङ पुग्ने यात्रुहरूको रोजाइ सडक मार्ग बन्न थालेको छ । सडक यातायात सहज र सस्तो भएपछि हवाई मार्गबाट यात्रा गर्नेहरूको सङ्ख्यामा कमी आएको स्टेसन इन्चार्ज लालचनले बताउनुभयो ।