सुनको भाउमा ऐतिहासिक रेकर्ड: प्रतितोला २ लाख ७० हजार नाघ्यो

काठमाडौं, १३ पुस । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले वृद्धि भई २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ। यो नेपाली सुन बजारको इतिहासमा हालसम्मकै उच्च मूल्य हो।

यसअघि गत शुक्रबार पनि सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। केही दिनदेखि सुनको मूल्य निरन्तर बढ्दै नयाँ रेकर्ड बनाउने क्रम जारी छ।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उत्तारचढावका कारण स्थानीय बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको व्यवसायीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *