अध्यागमन विभागले पुस १७ देखि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने
काठमाडौँ, १४ पुस । अध्यागमन विभागले नेपाल भ्रमणमा आउने विदेशी नागरिकहरूको विवरणलाई व्यवस्थित र सुरक्षित बनाउन आगामी पुस १७ गतेदेखि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ कार्यान्वयनमा ल्याउने भएको छ। विदेशी नागरिकको सुरक्षा, सूचना सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले यो प्रणाली सुरु गर्न लागिएको हो।
सोमबार विभागमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका तारे होटलहरूमा यो प्रणाली अनिवार्य रूपमा लागू गरिने जानकारी दिनुभयो। “यो प्रणालीको कार्यान्वयनले विदेशी नागरिकको आवागमन र बसाइलाई थप व्यवस्थित बनाउनेछ,” प्रवक्ता ढकालले भन्नुभयो।
विभागको कार्ययोजनाअनुसार दोस्रो चरणमा आगामी फागुन १७ देखि देशभरका सबै तारे होटल, हवाई कम्पनी, टुर्स एण्ड ट्राभल्स, मनी एक्सचेन्जरहरूमा यो प्रणाली विस्तार गरिनेछ। क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र विदेशीलाई सेवा प्रवाह गर्ने सार्वजनिक तथा निजी संस्थाहरूमा यसलाई अनिवार्य बनाइने विभागले जनाएको छ।
यो प्रणाली प्रभावकारी बनाउन विदेशी नागरिकलाई सेवा दिने सबै निकायहरू अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ। हालसम्म प्रणालीमा आबद्ध हुने संस्थाहरूको सङ्ख्या न्यून रहेकाले यथाशीघ्र आबद्धताका लागि विभागले अनुरोध गरेको छ। यस विषयमा विभागले सरोकारवाला सङ्घसंस्था र निकायहरूसँग आवश्यक सुझावसमेत लिएको छ।