सिन्धुलीको जङ्गलमा २२ वर्षीय युवकको शव फेला, नाइटोमा गोली लागेको र नजिकै भाँचिएको बन्दुक भेटियो

सिन्धुली, १५ पुस । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–१ स्थित पिउरीखोला जङ्गलमा एक युवकको शव गोली लागेको अवस्थामा फेला परेको छ ।

सुनकोशी गाउँपालिका–५ बन्दिपुरका २२ वर्षीय आशमान तामाङ जङ्गलमा मृत फेला परेका हुन् ।

मृतकको नाइटोको भागमा गोली लागेको र शरीरबाट रगत बगिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल मृतकको घरबाट करिब ३ किलोमिटर दक्षिणतर्फ पर्दछ ।

घटनास्थलको प्रकृति हेर्दा यो हत्या हो वा आफैँले बोकेको बन्दुक पड्किएर भएको दुर्घटना हो भन्नेबारे प्रहरीले यकिन गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।