एमाले पुनः पूर्ववत् लयमा फर्कियो, बालेन–रवि र कुलमान साम्राज्यवादीका पात्र हुन् : अध्यक्ष ढुङ्गेल

रामेछाप, २२ पुस । नेकपा (एमाले) का वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले गत भदौ २३ र २४ गतेका घटनापछि धक्का महसुस गरेको एमाले अहिले पुनः पुरानै लयमा फर्किएको दाबी गर्नुभएको छ ।

मङ्गलवार रामेछापको मन्थलीमा आयोजित जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले करिब तीन महिनाको अवधिमा एमाले आफूलाई देशकै मजबुत शक्तिका रूपमा उभ्याउन सफल भएको बताउनुभयो ।

अध्यक्ष ढुङ्गेलले नेपाली कांग्रेस अझै पनि राजनीतिमा बामे सर्दै गरेको अवस्थामा रहेको टिप्पणी गर्दै एमाले भने जनताको भरोसाका रूपमा उदाएको उल्लेख गर्नुभयो । उहाँले साम्राज्यवादी शक्तिहरूले स्थापित राजनीतिक दल र नेताहरूका विरुद्ध भ्रम फैलाउन विभिन्न पात्रहरूलाई अघि सारेको आरोप समेत लगाउनुभयो ।

“संविधान समाप्त गर्ने र प्रत्यक्ष कार्यकारी प्रणालीमार्फत आफ्ना मानिस ल्याउने योजना असफल भएपछि अहिले बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङलाई अघि सारिएको छ,” उहाँले भन्नुभयो, “राजनीतिभन्दा बाहिरका मानिसलाई मुलुकको बागडोर सुम्पेर सत्ता कब्जा गर्ने साम्राज्यवादी सोचलाई एमालेले परास्त गर्नेछ ।” उहाँले दलहरूलाई कमजोर बनाएर सत्ता कब्जा गर्न चुनावको माहोल बनाउन खोजिएको भन्दै संविधानका पक्षधरहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

पुष्पलालको जन्मभूमि रामेछापबाट आगामी निर्वाचनमा एमालेले जित्नैपर्ने उल्लेख गर्दै उहाँले अन्य लोकतान्त्रिक दलहरूसँग सहकार्य गरेर वा एक्लै लडेर भए पनि जित सुनिश्चित गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *