चाँदीको मूल्यमा ऐतिहासिक रेकर्ड : प्रतितोला ४,९३५ पुग्यो, सुनको भाउमा भने गिरावट

काठमाडौँ, २३ पुस । नेपाली बजारमा बुधबार चाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ भने सुनको भाउमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ९३५ रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो । यसअघि गत पुस १४ गते चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ पुगेर उच्च रेकर्ड कायम गरेको थियो । मंगलबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउले नयाँ उचाइ लिइरहँदा सुनको मूल्यमा भने गिरावट देखिएको छ । महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । यो अघिल्लो दिन (मंगलबार) को तुलनामा प्रतितोला ४ सय रुपैयाँले कम हो । मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत पुस १३ गते नेपाली बजारमा सुनको भाउले हालसम्मकै उच्च रेकर्ड बनाएको थियो । सो दिन सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको महासंघको तथ्याङ्कले देखाउँछ । अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ ।