आगामी निर्वाचनका लागि ८० हजार सेना मैदानमा उत्रिँदै, यस्तो छ नेपाली सेनाको सुरक्षा रणनीति

काठमाडौँ, २४ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनाले ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । सरकारले तयार पारेको ‘एकीकृत सुरक्षा योजना २०८२’ राष्ट्रपतिबाट स्वीकृत भएसँगै सेनाले चुनावी सुरक्षाका लागि आफ्नो फौज परिचालन गर्ने प्रक्रिया अघि बढाएको हो ।

नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता राजाराम बस्नेतका अनुसार स्वीकृत सुरक्षा योजनाको मार्गनिर्देशन अनुरूप निर्वाचन हुनुभन्दा एक महिना अगावैदेखि सेना फिल्डमा खटिनेछ ।

निर्वाचनलाई लक्षित गरी सेनाले तीन फरक चरणमा सुरक्षा जिम्मेवारी सम्हाल्ने गरी तयारी थालेको छ:
१. निर्वाचन पूर्व: मतपत्र छपाइको सुरक्षादेखि विमानस्थल, कारागार र राष्ट्रिय महत्त्वका संरचनाहरूको सुरक्षाको पूर्ण जिम्मेवारी सेनाको काँधमा हुनेछ । यसका साथै सबै सुरक्षा निकायसँगको समन्वयमा तल्लो तहसम्म एकीकृत तालिम र अभ्यास सञ्चालन गरिनेछ ।

२. मतदानको समय: मतदानको दिन नेपाली सेना तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्नेछ । यसले राजनीतिक दल, उम्मेदवार, मतदाता र कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने लक्ष्य राखेको छ ।

३. निर्वाचन पश्चात्: मतदान सकिएलगत्तै मतपेटिकाको ढुवानी र मतगणना स्थलको सुरक्षामा सेना सक्रिय हुनेछ ।

सुरक्षा वेश र समन्वय
विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि सेनाले देशका विभिन्न रणनीतिक स्थानहरूमा नयाँ सुरक्षा वेशहरू स्थापना गर्ने तयारी गरेको छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन अहिले प्रदेशस्तरमा सुरक्षा गोष्ठीहरू समेत सञ्चालन भइरहेका छन् ।

प्रवक्ता बस्नेतका अनुसार यी गोष्ठीहरूबाट प्राप्त सुझाव र विश्लेषणका आधारमा सरकारले थप सुरक्षा प्रबन्ध मिलाउनेछ । “नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनसँगको निकट समन्वयमा राज्यको यो महत्त्वपूर्ण कार्यभार पूरा गर्न हामी पूर्ण रूपमा तयार छौँ,” उनले भने ।

राष्ट्रिय सुरक्षा परिषद् र सरकारबाट एकीकृत सुरक्षा योजना अनुमोदन भइसकेकाले अब सेनाले निर्वाचन सुरक्षाका लागि आवश्यक जनशक्ति र स्रोत साधनको व्यवस्थापनलाई तीव्र पारेको छ ।