म्याग्दीमा माघेसङ्क्रान्तिको उल्लास : मगर र छन्त्याल समुदायको मौलिक रौनक, बेनीमा ऐतिहासिक मेला सुरु

म्याग्दी, १ माघ । माघे सङ्क्रान्तिको अवसरमा म्याग्दीका मगर र छन्त्याल बस्तीहरूमा विशेष रौनक छाएको छ । प्रकृति पूजकका रूपमा चिनिने यी समुदायले आफ्नो मौलिक परम्परा अनुसार आजको दिनलाई वर्षकै ठूलो र महत्त्वपूर्ण पर्वका रूपमा मनाइरहेका छन् ।

विशेषगरी जिल्लामा बाहुल्यता रहेको मगर समुदायले माघे र साउने सङ्क्रान्तिलाई विशेष महत्त्व दिने गर्छन् । अल्पसङ्ख्यक छन्त्याल समुदायका लागि भने माघे सङ्क्रान्ति सबैभन्दा ठूलो राष्ट्रिय चाड नै हो ।

नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष खम थापामगरका अनुसार मगर संस्कृतिमा साउने सङ्क्रान्तिलाई हिउँद र माघे सङ्क्रान्तिलाई बर्खा (गर्मी मौसम) सुरु भएको दिनका रूपमा मानिन्छ । “हामी यसलाई प्रकृतिको चक्र परिवर्तनका रूपमा धुमधामसँग मनाउँछौँ,” उहाँले भन्नुभयो, “आजको दिन चेलीबेटी र आफन्तलाई निमन्त्रणा गरेर सेलरोटी, तरुल र मिठामिठा परिकार खुवाउने परम्परा छ ।”

यो पर्व माइती र चेलीको मिलन तथा खुसी साटासाट गर्ने माध्यम समेत बनेको छ । चाड मनाउन सहर-बजार र विदेशमा रहेका युवाहरू समेत गाउँ फर्किएका छन् । अन्नपूर्ण गाउँपालिका–७ टिकोटकी टिका तिलिजा पुनले भन्नुभयो, “यही चाडले गर्दा लामो समयपछि आफन्त र साथीभाइसँग भेटघाट गर्ने अवसर मिलेको छ ।”

माघे सङ्क्रान्तिको अवसरमा म्याग्दीको सदरमुकाम बेनी बजारमा ऐतिहासिक मेलाको आयोजना गरिएको छ । स्थानीय बासिन्दा एवं बेनीका पूर्वप्रमुख हरिकुमार श्रेष्ठका अनुसार बेनीमा बस्ती बसेदेखि नै (करिब २०० वर्षअघि) माघे सङ्क्रान्तिमा मेला लाग्ने परम्परा छ ।

“पहिले गाउँ-गाउँमा बजार थिएनन्, त्यसैले मानिसहरू चामल, घ्यू, कोदो, भाँगो, ठेका र तामा-फलामका भाँडा बिक्री गर्न र किनमेल गर्न बेनी झर्थे,” श्रेष्ठले विगत सम्झनुभयो । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वासका कारण पनि बेनीमा मानिसहरूको भीड लाग्ने गर्छ ।

समयसँगै मेलाको स्वरूप फेरिएको छ । अहिले परम्परा संरक्षणका साथै व्यापार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवहरूको आयोजना हुन थालेको छ । यसै सन्दर्भमा बुधबारदेखि बेनीमा ‘११ औँ माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि मेला प्रदर्शनी’ सुरु भएको छ ।

महिला उद्यम विकास समितिले आयोजना गरेको यस मेलाका बारेमा सभापति अम्बिका श्रेष्ठले भन्नुभयो, “हाम्रो उद्देश्य परम्परागत मेलाको जगेर्ना गर्ने मात्र होइन, स्थानीय खाना, कला र संस्कृतिको संरक्षण गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाउनु पनि हो ।”

मेलाको अवसरमा मगर बस्तीहरूमा पुख्र्यौली नृत्य (सोरठी, यानीमाया) देखाइने, खेलकुद प्रतियोगिताहरू हुने र सांस्कृतिक झाँकीहरू प्रदर्शन गर्ने कार्यले म्याग्दीको वातावरण संगीतमय बनेको छ ।