निर्वाचन प्रहरीमा आकर्षण: पर्सामा मागभन्दा दोब्बर बढीको आवेदन
पर्सा, २ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना खुला गरिएको निर्वाचन प्रहरी (म्यादी प्रहरी) मा युवाहरूको उल्लेख्य आकर्षण देखिएको छ । पर्सा जिल्लामा माग गरिएको सङ्ख्याभन्दा दोब्बर बढीको आवेदन परेको छ ।
निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति पर्साका अनुसार जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरी कुल दुई हजार ८५२ जनाको माग गरिएको थियो । तर, नेपाल प्रहरीतर्फ मात्रै हालसम्म पाँच हजार ३९९ जनाले आवेदन दिएका छन् । यस्तै, सशस्त्र प्रहरीतर्फ ३८५ जनाको माग रहेकामा माघ १ गतेसम्म ५२१ जनाको आवेदन परिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतले निर्वाचन प्रहरीमा आवेदन दिनेहरूको सङ्ख्या उत्साहजनक रहेको जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन दिने नयाँ पुरुषको सङ्ख्या तीन हजार १४७ र महिलाको सङ्ख्या ६०३ रहेको छ । यसैगरी, विगतका निर्वाचनहरूमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका ६८७ पुरुष र १५३ महिलाले पनि पुनः आवेदन दिएका छन् ।
विशेषगरी पूर्वसुरक्षाकर्मीहरू समेत यसमा इच्छुक देखिएका छन् । प्रवक्ता बस्नेतका अनुसार १२ जना पूर्वसुरक्षाकर्मी र विदेशी सैनिकबाट अवकाश प्राप्त एक जनाले पनि निर्वाचन प्रहरीका लागि फारम भरेका छन् ।
सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी मोहन निरौलाले निर्वाचन प्रहरीमा युवादेखि अन्य उमेर समूहको समेत आकर्षण रहेको बताउनुभयो । सशस्त्र प्रहरीतर्फ आवेदन दिने समय सीमा माघ ३ गतेसम्म तोकिएको छ ।
यसैगरी, छिमेकी जिल्ला रौतहटमा पनि निर्वाचन प्रहरीमा आवेदन दिनेहरूको लर्को लागेको छ । रौतहटमा कुल ६ हजार ७३६ जनाको आवेदन परेको छ, जसमा ५ हजार ३४८ पुरुष र ९३६ महिला रहेका छन् ।