मुस्ताङमा निर्वाचन प्रहरी बन्न बाहिरी जिल्लाका युवाको ओइरो : ८० प्रतिशत आवेदक जिल्ला बाहिरका

मुस्ताङ, ८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा भर्ना हुन चाहने निर्वाचन प्रहरी (म्यादी प्रहरी) मध्ये ८० प्रतिशत आवेदक जिल्ला बाहिरका रहेका छन् । हिमाली जिल्लाको प्रतिकूल मौसम र ठिहीको प्रवाह नगरी छिमेकी तथा दुर्गम जिल्लाका युवायुवतीहरू मुस्ताङ पुगेर आवेदन दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार यहाँ माग गरिएको सङ्ख्याको तुलनामा आवेदन दिनेहरूको सङ्ख्या उत्साहजनक देखिएको छ । सुरुमा तोकिएको समय (माघ २ गते) सम्म पर्याप्त आवेदन नपरेपछि म्याद थप दुई दिन बढाइएको थियो ।

मुस्ताङमा नेपाल प्रहरीका लागि २६६ जना र सशस्त्र प्रहरी बल नेपालका लागि ४६ जना गरी कुल ३१२ जना निर्वाचन प्रहरीको माग गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार अन्तिम समयसम्म कुल ३२३ जनाले आवेदन दर्ता गराएका छन् ।

निर्वाचन प्रहरीमा भर्ना हुनका लागि मुस्ताङका स्थानीयभन्दा बाहिरी जिल्लाका युवाहरूको आकर्षण बढी देखिएको छ । सूचना अधिकारी बस्यालका अनुसार आवेदन दिनेहरूमा म्याग्दी, बागलुङ, पर्वत, धादिङ, रुकुम, रोल्पा र गोरखा लगायतका जिल्लाका युवायुवतीहरू रहेका छन् । कुल आवेदकमध्ये करिब ८० प्रतिशत यी र अन्य जिल्लाबाट मुस्ताङ पुगेका हुन् ।

अहिले मुस्ताङमा अत्याधिक चिसो र हिउँ पर्ने समय भए पनि निर्वाचनमा खटिने उत्साहका साथ युवाहरू आवेदन दिन पुगेका हुन् ।