साताको अन्तिम दिन नेप्सेमा सुधार: ९ अङ्कले बढ्यो बजार, ९ अर्बमाथिको कारोबार
काठमाडौँ, ८ माघ । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार परिसूचक (नेप्से) सामान्य अङ्कले बढेर बन्द भएको छ । बुधबार सामान्य ‘करेक्सन’ देखिएको बजारमा आज सुधार आएसँगै लगानीकर्ताहरू उत्साहित देखिएका छन् ।
नेप्सेका अनुसार आज नेप्से परिसूचक ९.२३ अङ्कले बढेर २७१४.६१ विन्दुमा पुगेको छ । यस्तै, फ्लोट इण्डेक्स ०.६६ अङ्कले बढेको छ भने सेन्सेटिभ इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्समा भने झिनो गिरावट देखिएको छ ।
नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । बुधबार ८ अर्ब ९२ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज ३३२ कम्पनीका १ करोड ९० लाख ७५ हजार कित्ता शेयर ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँमा खरिदबिक्री भएका छन् । आज कुल ९४ हजार १७४ पटक कारोबार भएको छ ।
आजको बजारमा चारवटा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत र रावा इनर्जीको मूल्य ९ प्रतिशतले बढेको छ । यता, कालिका पावर कम्पनीका लगानीकर्ताले भने आज सर्वाधिक ६.२५ प्रतिशत गुमाएका छन् ।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ४० करोड ८२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । मञ्जुश्री फाइनान्सको ३६ करोड र एसवाई प्यानलको ३३ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज १३ उपसमूहमध्ये १० वटाको परिसूचक बढेको छ भने ३ वटाको घटेको छ । वित्त (Finance) उपसमूह २.३८ प्रतिशतले बढेको छ । विकास बैंक, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहमा १ प्रतिशतभन्दा बढीको सुधार देखिएको छ ।