चितवनमा गैँडाको आक्रमणबाट २२ वर्षीय युवकको मृत्यु

चितवन, १३ माघ । चितवनको माडी नगरपालिकामा गैँडाको आक्रमणबाट एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालका अनुसार सोमबार घाँस दाउरा गर्न घर नजिकैको मरड खोला क्षेत्रमा गएका बेला भट्टराईलाई गैँडाले आक्रमण गरेको थियो।

गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा सोमबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको डिएसपी खनालले जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिको यो दोस्रो घटना हो। यस वर्ष ज्यान गुमाउने दुवै जनाको मृत्यु गैँडाकै आक्रमणबाट भएको निकुञ्जले जनाएको छ।