तनहुँको बेलबासमा व्यावसायिक पशुपालनको लहर: दैनिक १७ सय लिटर दूध उत्पादन
काठमाडौँ, माघ १४ । स्वदेशमै परिश्रम गरे वैदेशिक रोजगारीको तुलनामा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तनहुँको व्यास नगरपालिका-१३, बेलबासका कृषकहरूले प्रस्तुत गरेका छन्। व्यावसायिक पशुपालनमार्फत यहाँका कृषकहरूले आर्थिक समृद्धिको नयाँ मार्ग प्रशस्त गरेका हुन् ।
बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध ६१ मध्ये ४५ कृषकले व्यावसायिक रूपमा पशुपालन गर्दै आएका छन् । सामान्यतया सुख्खायाममा दूधको उत्पादन घट्ने भए तापनि यहाँ भने उत्पादनमा वृद्धि भएको संस्थाले जनाएको छ । संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीका अनुसार यहाँका कृषकहरूले दूध बिक्रीबाट मासिक १५ हजारदेखि २ लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् ।
पहिले दैनिक १,६०० लिटर दूध सङ्कलन हुने गरेकोमा कृषकहरूले गाईको सङ्ख्या थपेपछि हाल उत्पादन बढेर १७ सय लिटर पुगेको छ । सङ्कलित दूध स्थानीय दमौली बजार र पोखरास्थित सुजल डेरीमा बिक्री गरिँदै आएको छ । बजारको सुनिश्चितता भएपछि यहाँका स्थानीयहरू पशुपालनतर्फ थप आकर्षित भएका हुन् ।
दमौली बजारमा सञ्चालित दुईवटा बिक्री केन्द्रमार्फत दैनिक ७ सय लिटर दूध खपत हुने गरेको छ भने पोखराको सुजल डेरीले एक दिन बिराएर २ हजार लिटर दूध लैजाने गरेको छ। संस्थाका सचिव मेघनाथ आचार्यले व्यावसायिक पशुपालनले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनुका साथै अन्य युवाहरूका लागि समेत उत्प्रेरणा जगाएको बताउनुभयो ।
आर्थिक तथ्याङ्क अनुसार हाल दैनिक १ लाख ३४ हजार रुपियाँ बराबरको दूध सङ्कलन हुने गरेको छ। कृषकहरूले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट प्रतिलिटर ३ रुपैयाँ र व्यास नगरपालिकाबाट प्रतिलिटर २ रुपियाँ उत्पादनमा आधारित अनुदान समेत प्राप्त गर्दै आएका छन् ।
संस्थाका अध्यक्ष केशवबहादुर थापाले राज्यले दाना र चोकरको मूल्य वृद्धि नियन्त्रण गरी उत्पादनका आधारमा प्रदान गरिने अनुदानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । वडाध्यक्ष वसन्तबहादुर आलेका अनुसार नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्न उत्पादनमुखी अनुदानका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।