होटल फरेष्ट इनले माघ २२ देखि सर्वसाधारणका लागि आइपिओ बिक्री गर्ने

काठमाडौँ, १४ माघ । होटल फरेष्ट इन लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने मिति तय गरेको छ। कम्पनीले आगामी माघ २२ गतेदेखि प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा आइपिओ बिक्री खुला गर्ने भएको हो।

कम्पनीले आफ्नो जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। जसमध्ये १० प्रतिशत (४ लाख कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपाली, ५ प्रतिशत (२ लाख कित्ता) सामूहिक लगानी कोष र २ प्रतिशत (८० हजार कित्ता) कर्मचारीहरूलाई बाँडफाँट गरिसकेको छ।

बाँकी रहेको ३३ करोड ३० लाख रुपैयाँ बराबरको ३३ लाख २० हजार कित्ता सेयर अब सर्वसाधारणका लागि जारी गरिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते हुनेछ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो सेयर’ सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइसी एसिया क्यापिटलले सम्हालेको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ।