लमजुङमा अलैँचीबाट २४ करोड ३० लाख आम्दानी, मूल्य बढ्दा किसान उत्साहित
लमजुङ, १४ माघ । लमजुङ जिल्लामा यस वर्ष अलैँची (ब्ल्याक गोल्ड) बिक्रीबाट कृषकहरूले मनग्य आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका अनुसार चालु आर्थिक वर्षमा अलैँची बिक्रीबाट जिल्लामा रु २४ करोड ३० लाख भित्रिएको छ ।
कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार यस वर्ष उत्पादन केही घटे पनि मूल्यमा भएको उच्च वृद्धिले आम्दानी बढेको हो । गत वर्ष प्रतिकिलो १५ सयदेखि २४ सयमा बिक्री भएको अलैँची यस वर्ष १८ सयदेखि २५ सय रुपैयाँसम्ममा बिक्री भएको छ । भारतमा उत्पादन घटेका कारण नेपाली अलैँचीको माग र मूल्य दुवै बढेको बताइएको छ ।
तथ्याङ्कमा अलैँची आम्दानी:
चालु आ.व.: २४ करोड ३० लाख (१३५ मेट्रिकटन)
आ.व. २०८१/८२: २२ करोड (१५० मेट्रिकटन)
आ.व. २०८०/८१: २४ करोड (२५१ मेट्रिकटन)
आ.व. २०७९/८०: २० करोड (३८० मेट्रिकटन)
नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष सोमबहादुर तामाङले मूल्य राम्रो पाएपछि किसानहरू उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष मर्स्याङ्दी गाउँपालिकाका किसानले सबैभन्दा बढी आम्दानी गरेका छन्, खेतीले जीवनस्तर उकास्न ठूलो सहयोग गरेको छ ।”
जिल्लामा हाल ७५० हेक्टर क्षेत्रफलमा अलैँची खेती भए पनि ३७५ हेक्टरमा मात्र उत्पादन भइरहेको छ । यहाँको हावापानी अनुसार ७०० देखि २२०० मिटर उचाइसम्म साउन्ने, जिर्मले, डम्बर शाही, गोलशाही र रामशाही जातका अलैँची उत्पादन हुँदै आएको छ । हाल जिल्लाभर करिब तीन हजार किसान व्यावसायिक अलैँची खेतीमा आबद्ध छन् ।