नेप्सेमा सामान्य सुधार : ५ अंकले बढ्दा कारोबार रकम भने साढे ११ अर्बमा खुम्चियो

काठमाडौँ, १५ माघ । अघिल्लो दिन उच्च अंकले घटेको सेयर बजारमा बुधबार भने सामान्य सुधार देखिएको छ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ विन्दुमा बन्द भएको हो ।

बजार बढे पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । मंगलबार १४ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा आज (बुधबार) कारोबार रकम घटेर ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ । आज ३३४ कम्पनीको २ करोड ३६ लाख कित्ता सेयर किनबेच भयो ।

बुधबारको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, मिथिला लघुवित्तको सेयर मूल्य साढे ९ प्रतिशत र पिपुल्स पावर तथा बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो । सो कम्पनीको ८३ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । त्यसैगरी राधी विद्युत कम्पनीको ५४ करोड र एसवाई प्यानलको करिब ५० करोडको कारोबार भएको छ ।

उपसमूहगत रूपमा हेर्दा आज १३ मध्ये ८ उपसमूहको सूचक बढेको छ भने बैंकिङ, जीवन बीमा र लघुवित्तसहित ५ उपसमूहको सूचक घटेको छ । वित्त उपसमूहको सूचक सबैभन्दा धेरै १.२४ प्रतिशतले बढेको छ ।