सुनको मूल्यमा दिनहुँ नयाँ इतिहास : तोलाकै ३ लाख ३९ हजार ३ सय पुग्यो

काठमाडौँ, १५ माघ । नेपाली बजारमा सुनचाँदीको मूल्यले दिनदिनै नयाँ ऐतिहासिक कीर्तिमान कायम गर्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बिहीबार, १५ माघ) सुन र चाँदी दुवैको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

महासङ्घले निर्धारण गरेको नयाँ मूल्यअनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदीको मूल्य पनि आकासिएको छ । आज चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको छ ।

साताको मध्यमा सुनको मूल्यमा अस्वाभाविक वृद्धि देखिएको छ । अघिल्लो दिन (बुधबार) प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन २० हजार ५ सय रुपैयाँले बढेको हो । यस्तै, बुधबार ७ हजार ३ सय रुपैयाँ रहेको चाँदी आज २०५ रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ ।

यसअघि गत मङ्गलबार मात्रै सुनको मूल्य ३ लाख ९ हजार ३ सय रुपैयाँ र चाँदी ६ हजार ८ सय ७० रुपैयाँ थियो ।