पर्वतबाट एकै वर्ष ३२ करोडको सुन्तला निर्यात, बाँसखर्कबाट मात्रै २० करोडको बिक्री

पर्वत, १५ माघ । पहाडी जिल्ला पर्वतबाट यस वर्ष मात्रै ३२ करोड रुपैयाँ भन्दा बढीको सुन्तला निर्यात भएको छ । जिल्लाका विभिन्न स्थानमा उत्पादित सुन्तला बिक्री गरेर कृषकहरूले ३२ करोड ५ लाख रुपैयाँ भित्र्याउन सफल भएका हुन् ।

कृषि विकास कार्यालय पर्वतका अनुसार यस वर्ष सुन्तलाको उत्पादन र बजार मूल्य दुवै राम्रो भएकाले किसानले मनग्य आम्दानी गरेका छन् ।

जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने पकेट क्षेत्र जलजला गाउँपालिकाको बाँसखर्कबाट मात्रै २० करोड रुपैयाँ बराबरको सुन्तला निर्यात भएको छ ।

यस्तै, मल्लाजको पूर्णगाउँ, रातमाटा, शालिजा, भोटेडाँडा, मोदी गाउँपालिकाको देउपुर, बाजुङ, चित्रे तथा फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, ठानामौला र लिमिठानालगायतका स्थानबाट बाँकी सुन्तला निर्यात भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष जिल्लाभरबाट ३ हजार ४२१ मेट्रिकटन सुन्तला निर्यात भएको छ । सुन्तलाको दाना हेरेर कृषकले बोटबाटै प्रतिकिलोग्राम ९५ देखि १२० रुपैयाँसम्म मूल्य पाएका छन् ।
कार्यालयका सूचना अधिकारी सोविता सुवेदीले चालु आर्थिक वर्षमा सुन्तला उत्पादन राम्रो हुनुका साथै किसानले उचित मूल्य पनि पाएको जानकारी दिइन् ।

गाउँ–गाउँमा सडक सञ्जालको पहुँच विस्तार भएसँगै सुन्तला बजारीकरणमा सहजता थपिएको छ । काठमाडौँ, नारायणगढ, पोखरा र बुटवललगायतका स्थानबाट व्यापारीहरू सुन्तला खरिद गर्न गाडी लिएर बगानमै पुगेका थिए ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर जस्ता राष्ट्रिय राजमार्ग सञ्चालनमा आउनु र ग्रामीण भेगसम्म सडक स्तरोन्नति हुनुले सुन्तला निर्यात सहज बनेको हो । किसानहरूले ‘जेठी’, ‘माइली’ र ‘कान्छी’ गरेर सुन्तलाको ग्रेडिङ गरी बिक्री वितरण गरेका थिए । यहाँको हावापानीका कारण माघको अन्तिम सातासम्म पनि बोटमै सुन्तला ताजा रहने भएकाले बेसिजनमा राम्रो मूल्य पाइने गरेको छ ।

फलेवास नगरपालिका–११ का अगुवा कृषक रामप्रसाद गौतमले एउटै टोलबाट १ करोड देखि डेढ करोड रुपैयाँसम्मको सुन्तला बिक्री भएको बताए । व्यावसायिक सुन्तला खेतीले राम्रो प्रतिफल दिन थालेपछि किसानहरू उत्साहित बनेका छन् ।

पछिल्लो समय प्रदेश सरकार र स्थानीय तहले सुन्तला खेती प्रवर्द्धनका लागि तालिम, गोडमेल प्रविधि र आवश्यक विषादी (चुन, नीलोतुथो) उपलब्ध गराउन थालेपछि किसानलाई थप राहत मिलेको छ ।