बागलुङमा सुन्तला उत्पादनमा वृद्धि : झण्डै २७ करोडको कारोबार

काठमाडौँ, माघ १७ । बागलुङ जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा उल्लेख्य वृद्धि भई करिब २६ करोड ९० लाख रुपियाँ बराबरको उत्पादन भएको छ । सुन्तला खेतीतर्फ कृषकहरूको बढ्दो आकर्षण र अनुकूल मौसमका कारण उत्पादनमा सुधार आएको हो । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ४४ लाख रुपैयाँ बढीको सुन्तला उत्पादन भएको छ । गत वर्ष जिल्लामा २६ करोड ४६ लाख रुपियाँ बराबरको सुन्तला उत्पादन भएको थियो । यस वर्ष औसा किराको प्रकोप कम हुनु र बोटहरूको उचित व्यवस्थापन हुनुले उत्पादन बढाउन सहयोग पुर्‍याएको केन्द्रका प्रमुख कुमार पुन मगरले जानकारी दिनुभयो ।

प्रमुख पुन मगरका अनुसार यस वर्ष जिल्लामा कूल ४ हजार १६९ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । कृषकहरूले न्यूनतम ६५ रुपियाँ प्रतिकिलोका दरले सुन्तला बिक्री गरेका छन् । पछिल्लो समय कोदो, मकै र गहुँजस्ता परम्परागत बालीको विकल्पमा कृषकहरूले व्यावसायिक सुन्तला खेतीलाई रोज्न थालेका छन् । “पहिले बाँझो रहेका जमिन र खाद्यान्न बाली लगाइने बारीहरू अहिले सुन्तलाका बोटले ढाकिएका छन्,” उहाँले भन्नुभयो, “कम मेहनतमा राम्रो आम्दानी हुने भएपछि सुन्तला खेतीतर्फ आकर्षण बर्सेनि बढ्दो छ ।”

तथ्याङ्कअनुसार वि.सं. २०७६ मा ५८५ हेक्टर क्षेत्रफलमा रहेको सुन्तला खेती हाल विस्तार भएर ६६४ हेक्टर पुगेको छ । जसमध्ये ३८१ हेक्टर क्षेत्रफलमा रहेका बोटहरूले उत्पादन दिइरहेका छन् । बागलुङको काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे तथा जैमिनी नगरपालिकाको बिनामारे र दमेक सुन्तला उत्पादनका लागि मुख्य क्षेत्र मानिन्छन् ।

स्थानीय कृषकहरूले पनि यस वर्ष उत्पादन र आम्दानी दुवै बढेकोमा उत्साह व्यक्त गरेका छन् । काठेखोला गाउँपालिका-६ का कृषक पशुपति कँडेलले अघिल्लो वर्ष ६ लाख रुपियाँको सुन्तला बिक्री गर्नुभएकोमा यस वर्ष उत्पादन बढेपछि ८ लाख रुपियाँमा आफ्नो बगान व्यापारीलाई जिम्मा दिनुभएको बताउनुभयो ।

त्यसैगरी, सोही गाउँका अर्का कृषक लोकनाथ कँडेलले पनि यस वर्ष आम्दानीमा वृद्धि भएको सुनाउनुभयो । गत वर्ष १३ लाख रुपियाँको सुन्तला बिक्री गर्नुभएका उहाँले यस वर्ष १५ लाख रुपियाँ आम्दानी गर्नुभएको छ । समयमै भएको वर्षा र फल दिने नयाँ बोटहरू थपिएकाले उत्पादनमा सोचेजस्तो सुधार आएको उहाँको अनुभव छ ।