सुनको भाउ एकैदिन १८ हजार ८ सयले घट्याे, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ, १८ माघ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज (माघ १८ गते) दुवै धातुको भाउ ओरालो लागेको हो ।
महासङ्घले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ तोकेको छ । यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम थियो । शुक्रबारको तुलनामा आज सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो ।
यस्तै, चाँदीको मूल्यमा पनि ठूलो गिरावट देखिएको छ । शुक्रबार प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
साताको बजार विश्लेषण गर्दा गत बिहीबार सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको थियो । बिहीबार प्रतितोला ३ लाख ३९ हजार ३ सय पुगेको सुनको भाउ शुक्रबार र आइतबार गरी लगातार घटिरहेको छ । गत मंगलबार ३ लाख ९ हजार ३ सय रहेको सुन बुधबार बढेर ३ लाख १८ हजार ८ सय पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ८ सय ६५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ८५ डलरमा कारोबार भइरहेको छ ।