नेप्से १९ अङ्कले घट्दा ९ अर्ब १० करोडको कारोबार, कर्पोरेट डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट

काठमाडौँ, १८ माघ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक १९.८५ अङ्कले घटेर २६९४.२० विन्दुमा कायम भएको छ ।

बजार परिसूचक घटे पनि कारोबार रकम भने ९ अर्ब नाघेको छ । आज ३२९ कम्पनीको २ करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर १ लाख १० हजार ७२८ पटक खरिदबिक्री हुँदा ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार (ट्रेडिङ) समूहको उपसूचक ०.५५ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहका उपसूचक ओरालो लागेका छन् ।

सबैभन्दा धेरै होटल तथा पर्यटन समूह १.७५ प्रतिशतले घटेको छ । यस्तै, जलविद्युत् समूह १.३६ प्रतिशत, लगानी समूह ०.९६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७६ प्रतिशत र विकास बैंक समूह ०.७५ प्रतिशतले घटेका छन् । बैंकिङ, वित्त, बिमा र लघुवित्त लगायतका समूहमा पनि सामान्य गिरावट देखिएको छ ।

कारोबार रकम र सेयर सङ्ख्याका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । यो कम्पनीको ५५ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको १७ लाख ४६ हजार ९२४ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आजको बजारमा मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको सेयर मूल्य ९.७० प्रतिशतले बढेको छ ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । बैंकको सेयर मूल्यमा ठूलो गिरावट आउँदा लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।