राष्ट्रपति पौडेल र जापानी विदेश राज्यमन्त्रीबीच भेटवार्ता: कोटेश्वरमा ‘अन्डर पास’ बनाउन जापान तयार
जापान, १९ माघ । जापानको चारदिने औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल र जापानका विदेश राज्यमन्त्री होरी इवाओबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ। टोकियोमा भएको उक्त भेटमा दुई देशबीचको ७० वर्ष लामो कूटनीतिक सम्बन्ध, विकास साझेदारी र आगामी निर्वाचनका विषयमा छलफल भएको छ।
भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको सम्बन्ध ७०औँ वर्षगाँठमा पुग्नु द्विपक्षीय मित्रताको एक महत्वपूर्ण ‘कोशेढुङ्गा’ भएको बताउनुभयो।
भेटका क्रममा जापानी विदेश राज्यमन्त्री इवाओले नेपालको पूर्वाधार विकासमा जापानको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। विशेषगरी, काठमाडौँको सवारी जाम व्यवस्थापनका लागि कोटेश्वरमा आवश्यक ‘अन्डर पास’ निर्माण गर्ने निर्णय जापान सरकारले गरिसकेको जानकारी उहाँले दिनुभयो।
यस्तै, हालैको बाढीपहिरोबाट ठूलो क्षति बेहोरेको काठमाडौँ–सिन्धुली–बर्दिबास (बीपी राजमार्ग) सडकको पुनर्निर्माणमा पनि जापानले सहयोग गर्ने मन्त्री इवाओले बताउनुभयो।
जापानी राज्यमन्त्री इवाओले नेपालको संविधान र लोकतन्त्रको रक्षाका लागि राष्ट्रपति पौडेलले खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो। “नेपालको शान्ति र समृद्धि यो क्षेत्रकै लागि महत्वपूर्ण छ,” इवाओले भन्नुभयो, “आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने जापानको शुभेच्छा छ।”
राष्ट्रपति पौडेलले सन् २०२६ मा नेपाल अति कम विकसित राष्ट्रबाट स्तरोन्नति हुन लागेको सन्दर्भ उल्लेख गर्दै जापानबाट थप सहयोग र सद्भावको अपेक्षा राख्नुभयो। उहाँले नेपालमा लगानीका लागि कानुनी र प्रक्रियागत सुधार गरिएको जानकारी दिँदै जापानी लगानीकर्ताहरूलाई नेपालका प्राथमिकताका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो।
“नेपालको मानव संसाधन, स्वास्थ्य, कृषि र वातावरण संरक्षणमा जापानको प्रविधि र सीपबाट हामी अझै लाभान्वित हुन चाहन्छौँ,” राष्ट्रपति पौडेलले भन्नुभयो। उहाँले बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा जापानले पुर्याएको योगदानको पनि कदर गर्नुभयो।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल आइतबार राति टोकियो प्रस्थान गर्नुभएको हो।