क्यासिनो पर्यटनको ‘हब’ बन्दै भैरहवा : आर्थिक गतिविधि र रोजगारीमा उल्लेख्य वृद्धि
काठमाडौँ, माघ १९ । रूपन्देहीको सदरमुकाम भैरहवा पछिल्लो समय क्यासिनो पर्यटनको प्रमुख केन्द्र (हब) का रूपमा विकसित हुँदै गएको छ । विशेषगरी छिमेकी मुलुक भारतबाट आउने पर्यटकहरूको बढ्दो आकर्षणले यस क्षेत्रको होटल, रेस्टुरेन्ट र समग्र व्यापारिक गतिविधिमा नयाँ उत्साह थपेको हो ।
कोरोना महामारीपछि सुस्ताएको आर्थिक क्षेत्रलाई चलायमान बनाउन क्यासिनो पर्यटनले महत्त्वपूर्ण भूमिका खेलेको स्थानीय व्यवसायीहरूको बुझाइ छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यका अनुसार क्यासिनोमा आउने पर्यटकका कारण होटल, रेस्टुरेन्ट र ‘स्पा’ लगायतका सहायक व्यवसायहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । उहाँले नेपालमा पर्यटन प्रवर्द्धनका लागि सम्भावित क्षेत्रहरूको सूक्ष्म विश्लेषण गरी ठोस नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेशका सदस्य राजेश महोत्राले क्यासिनो व्यवसायले स्वदेशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्न मद्दत पुर्याएको बताउनुभयो । उहाँले यस क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सके मुलुकको पर्यटन क्षेत्रमा थप टेवा पुग्ने उल्लेख गर्नुभयो ।
यसैगरी, पर्यटन व्यवसायी अमित गुप्ताले क्यासिनो पर्यटनलाई संस्थागत गर्न निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । सुरक्षाको भरपर्दो व्यवस्था र सहज कानुनी प्रक्रिया भएमा यस क्षेत्रबाट राज्यले ठूलो मात्रामा राजस्व सङ्कलन गर्न सक्ने उहाँको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार हाल भैरहवामा आठ र बुटवलमा एक गरी यस क्षेत्रमा कूल नौवटा क्यासिनो सञ्चालनमा छन् । थप दुईवटा क्यासिनो सञ्चालनको तयारीमा रहेका छन् । हाल सञ्चालित क्यासिनोहरूले यस क्षेत्रका करिब दुई हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् ।
भारतको सुनौली नाकासँगै जोडिएको भैरहवा क्षेत्रमा पछिल्लो समयमा बढेको यो चहलपहलले यस पुरानो व्यापारिक केन्द्रलाई पुनर्जीवित गराएको छ ।